बुधबारदेखि एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा आउने



निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको एकल बिन्दु सेवा केन्द्र बुधबारदेखि सञ्चालनमा आउने भएको छ । उद्योग दर्ता, प्रवेशाज्ञालगायत विभिन्न आठ प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउने लक्ष्यका साथ सरकारले उद्योग विभागको परिसरमा सो केन्द्र स्थापना गरेको छ ।

गत चैत १५ र १६ गते काठमाडौंमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुसार नै केन्द्र सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । एकल बिन्दु सेवा केन्द्रले औद्योगिक व्यवसाय ऐन, २०७३ तथा अन्य प्रचलित कानून बमोजिम उद्योग वा लगानीकर्ताले पाउने सेवा, छुट, सुविधा, सहुलियत वा प्रोत्साहन सरल एवं सहज प्रक्रियाबाट उपलब्ध गराउने छ ।

त्यस्तै सरकारका विभिन्न निकायबाट सम्पादन गर्ने कार्यहरु समयभित्रै एकै स्थलबाट गर्ने तथा उद्योग स्थापनाको अनुमती, दर्ता, विस्तारदेखि निर्गमन (एक्जिट) सम्मका उद्योग प्रशासनसम्बन्धी सेवा केन्द्रबाट प्रवाह गरिनेछ । केन्द्रमा उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण, प्रवेशाज्ञा सहजीकरण, पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजश्व र प्रशासन तथा कानून एकाइ रहने छन् ।

केन्द्रमा सहसचिव सरहका एक प्रमुख कार्यकारीसहित ४१ दरबन्दी रहेको हालै प्रकाशित राजपत्रमा उल्लेख छ । केन्द्रमा सेवा प्रवाहलाई सहज बनाउन विभिन्न १४ वटा सरकारी निकायको प्रतिनिधित्व रहेको छ । केन्द्रको बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस


क्लिकमान्डु