सहकारीमा बेथिति बढ्यो, अब मर्जरमा जानू पर्छ : सहकारीमन्त्री अर्याल



दोलखा । भूमि व्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा सस्था सङ्ख्या सँगै बेथिति बढेको बताएकी छन् ।

उनले सहकारीमा बढेको बेथितिले आर्थिक अनुसासन नभएको भन्दै अब सहकारी मर्जरमा जान आवश्यक भएको बताइन् ।

दोलखा बृहत् सहकारी सम्मेलनको उद्घाटन गर्दै उनले उद्देश्य र कार्यक्षेत्र मिल्ने सहकारी मर्ज हुन आवश्यक रहेको बताईन । उनले दोलखामा मात्रै ५०१ वटा सहकारी रहेको भन्दै यी सहकारी लाई मर्ज गर्न आग्रह गरिन । उनले यसको अभियान दोलखाबाटै गर्न आग्रह समेत गरिन् ।

उनले भनिन् ‘सहकारी मर्जर गर्ने अभियानचलाउन जिल्ला सहकारी संघ दोलखालाई अनुरोध गर्दछु, मर्जर गर्दा हारिन्न, टुक्रा बोकेर हिडेर गन्तव्यमा पुगिन्न, मर्जर हुदा म अध्यक्ष हुन पाए म पाईन नभनौ योग्य सबै अध्यक्ष हुन्छन ।’

उनले अहिले ३४ हजार ५१२ वटा सहकारी रहेको र सबैलाई अनुदान दिएर सकिँदैन,थोरैलाई अनुदान दिन सकिन्छ, काम पनि राम्रो हुने बताइन् ।
अहिले नै मर्जरमा नगए भोलि दुर्घटना हुन सक्ने उनको भनाइ छ ।

अहिले मन्त्रालयमा सहकारी ठगिका घटना धेरै आएको भन्दै मर्जर गरेर आगामी चार वर्षमा ५०५ सहकारी घटाउने अभियानमा मन्त्रालय रहेको जानकारी गराइन् ।
सहकारीले बचत तथा ऋण परिचालन गर्ने क्रम बढेसँगै बेथिति बढेको भन्दै बचत परिचालन गर्नेको लागि छुट्टै ऐन ल्याउने तयारी भईरहेको बताइन् ।

अब समृद्धि नेतृत्व सहकारीले गर्ने भन्दै सहकारी गरिब, निम्न वर्गका जनताको पक्षमा हुनुपर्ने बताइन। गरिब, निम्न वर्गका जनताले २२,२३ प्रतिशतमा ऋण लिन नसक्ने भन्दै मन्त्री अर्यालले निम्न वर्गलाई सम्बोधन हुने गरी ब्याजदर निर्धारण गर्न आग्रह गरिन ।

कार्यक्रममा दोलखा बृहत् सहकारी सम्मेलनका संयोजक हेमन्त चौलागाईले दोलखा जिल्लामा मात्रै साढे आठ अर्ब बचत परिचालन भएको बताएका छन् ।
सम्मेलनमा चौलागाईले यस्तो बताएका हुन् ।

जिल्लामा रहेका ५२३ सहकारीमध्ये २० वटा सहकारी मर्ज भएर हाल ५०३ वटा सहकारी रहेको बताए । उनका अनुसार हाल सहकारीमा १ लाख ९० हजार सहभागी रहेका छन् । जसमा पुरुसको सहभागीता र बाकि महिला रहेको उनले बताए । कार्यक्रममा उनले ५५० जनाले रोजगारी पाएका छन् । जसमा महिला ५७ र पुरुस ४३ प्रतिशत रहेका छन् ।


क्लिकमान्डु