चापागाउँ –सातदोबाटो सडक मर्मत हुने



तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ ।

लामो समयदेखि धुवाँधुलो र हिलाले आजित चापागाउँबासीले बिहीबार र आज क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।

विगतमा उक्त सडक निर्माणको ठेक्का कन्ट्रयाक्ट निर्माण प्रालिले लिएको थियो । हाल विभिन्न कारण देखाई ठेक्का लिएको सडक मर्मतको काम ठेकेदारले गर्ने जिम्मेवारीबाट पन्छन चाहे तापनि उसैबाट काम अघि बढाइने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।

“सडक मर्मत र निर्माणको काम ९९ प्रतिशत अघि बढ्ने तयारी भइसकेको छ”, महर्जनले भने, “अबको एक हप्ताभित्र सडकको काम पक्कै अघि बढाउने छौं।”

नगरपालिकाले मन्त्रिपरिषद् र सम्बन्धित अन्य निकायलाई आफैँ  साढे पाँच करोड खर्च गरी सडक मर्मत र विस्तारको काम गर्ने चुनौती पटक पटक दिएसँगै उनीहरुले तत्काल गराउने सकारात्मक जवाफ दिएको महर्जनले बताए ।

सडक मर्मतको काम तत्काल शुरु नभए शनिबारदेखि अनिश्चितकालीन सडक बन्द गर्ने चेतावनी स्थानीयवासीले नगरपालिका प्रमुखलाई दिएका छन् । रासस


क्लिकमाण्डू