सरकारलाई गभर्नरको सुझाबः पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई चलायमान बनाऔं



काठमाडौं । सरकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन सरकारलाई सुझाब दिएका छन् ।

सरकारले पुँजीगत खर्च बढाउन नसकेका कारण बैंकिङ क्षेत्रले लगानी योग्य पुँजी (तरलता) अभावको समस्या झेलेको भन्दै गभर्नर डा. नेपालले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउन सुझाए ।

संघीय संसदको अर्थ समितिले बिहीबार राजधानीमा आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटका लागि सुझाब संकलन कार्यक्रममा उनले यस्तो बताए ।

अहिलेसम्म संघीय सरकारले पुँजीगत बजेटको ३७ प्रतिशत खर्च भएको र जसमा प्रदेश सरकारले १२ प्रतिशत मात्रै खर्च गरेको तथ्यांक प्रस्तुत गर्दै गभर्नर नेपालले पुँजीगत खर्च बढाउनुको विकल्प नरहेको औंल्याए ।

‘सरकारले पुँजीगत खर्च गर्न नसकेका कारण वित्तीय प्रणालीले तरलताको अभाव झेलिरहेको छ, वित्तीय प्रणालीमा तरलता नहुँदा आर्थिक गतिविधिहरु सोचेअनुसार बढ्न सकेका छैनन्,’ उनले भने ।

दीगो आर्थिक विकासका लागि सुशासन र उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

‘प्रदेश र स्थानीय तहको राजस्व संकलन र खर्च गर्ने क्षमता बढाउनुपर्ने देखिन्छ,’ गभर्नरले भने ।

मुलुकको विद्यमान आर्थिक अवस्थाको जानकारी गराउँदै गभर्नर नेपालले आन्तरिक उत्पादन बढाउन सकेमात्रै व्यापार घाटा कम गर्न सकिने जानकारी गराए ।

‘अहिले निर्यात १६१ अर्ब र आयात ९४९ अर्ब छ, व्यापारघाटा बढेर ८८७ अर्ब रुपैयाँ पुगेको छ,’ उनले भने, ‘हामीले आन्तरिक उत्पादन बढाउन जोड दिनैपर्छ ।’

अहिले ८ महिनाको वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको उनले जानकारी गराए ।

सरकारले आर्थिक स्थायित्वलाई जोड दिनुपर्ने उनको भनाई थियो ।


पुष्प दुलाल