१० महिनामा ५३७ जना विदेशी नागरिक नेपालबाट निष्कासित



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारले ५३७ जना विदेशी नागरिकलाई निस्काशित गरेको छ । गत साउन १ गतेदेखि बैशाख १५ गतेसम्मको तथ्यांक अनुसार विभिन्न कसुरमा सरकारले २४ देशका नागरिकलाई निस्काशन गरेको अध्यागन विभागले जानकारी दिएको छ ।

विभागका सञ्चार निर्देशक रामचन्द्र तिवारीले भने, ‘विभिन्न उद्देश्यले नेपाल प्रवेश गर्ने र नेपाल प्रवेशपछि विभिन्न गतिविधीमा संलग्न भएका विदेशी नागरिकलाई निस्काशित गरिएको हो, जसमा फौजदारी कसुर लागेका समेत छन् ।’

कुल १२ वटा कसुरमा निस्काशित भएका विदेशी नागरिकमध्ये सबैभन्दा धेरै ओभरस्टे गरी निस्काशित हुनेको संख्या ४५१ छ । त्यस्तै, जाली राहदानी तथा भिसामा नेपाल प्रवेश गर्ने ३३ जना र विना पासपोर्ट नेपाल प्रवेश गर्ने १३ जनालाई निस्काशित गरिएको तथ्यांक छ ।

त्यस्तै, बैंकिङ कसुरमा ९ जना, इन्ट्री रिफ्यूजीमा ८ जना खोटा चलनमा ७ जना, सुन चोरी पैठारीमा ६ जना निस्काशित भएका छन् ।
लागू औषध सम्बन्धि मुद्धामा २ जना, अपहरण र शरीर बन्धक, मानव बेचविखन तथा ओसारप्रसारमा संलग्न ३ जना, यौन दुराचारमा ३ जना, समुन्द्री घोडा समेतको अखेटा ओसारमा १ जना र दुर सञ्चार सम्बन्धि कल वाइपासमा संलग्न १ जनालाई निस्काशित गरिएको विभागले जानकारी दिएको छ ।

यसरी निस्काशित हुने नागरिकलाई बढीमा १० वर्ष नेपाल प्रवेश गर्न नपाउने र बढीमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने तिवारीले जानकारी दिए ।

अध्यागमन दीग्दर्शन – २०६५ को ६.३ अन्तर्गत निष्काशन हुने व्यक्तिले निष्काशन नहुँदासम्म विभागको तोकेको स्थानमा बस्नुपर्ने र नेपालबाट प्रस्थान गर्दा लाग्ने खर्च आफैले बेहोर्नुपर्ने उल्लेख छ ।

जरिवाना तिर्न नसक्ने व्यक्ति जेल जानुपर्छ । जसमा कैदीका रुपमा पाउने भत्ता दैनिक ३ सयका दरले ५० हजार रुपैयाँ पूरा नहुँदासम्म जेलमै बस्नुपर्छ ।

त्यस्तै, निष्काशन हुने व्यक्तिको हकमा कर्तव्य ज्यान सम्बन्धि मुद्धा, लागू औषध सम्बन्धि मुद्धा लागेमा १० वर्षसम्म नेपाल प्रवेश गर्न पाउँदैनन् । त्यस्तै, धर्म परिवर्तन गराएमा ५ वर्षसम्म प्रतिबन्ध लगाउन सकिने प्रावधान छ ।

यसरी निस्काशित हुनेमा सबैभन्दा इरानका २१ जना नागरिकले जाली राहदानी प्रयोग गरेर नेपाल प्रवेश गरेका थिए । जाली राहदानी प्रयोग गर्ने पाकिस्तानी नागरिक १० जना र केन्याको १ जना र सेनेगलका नागरिक १ जना छन् ।

त्यस्तै, बिना पासपोर्ट नेपाल प्रवेश गर्ने चिनियाँ नागरिक २ जना बंगालादेशी नागरिक ८ जना र पाकिस्तानी नागरिक १ जना छन् । सून चोरी पैठारीमा भने थाइल्यान्डका नागरिक ५ जना र पाकिस्तानी नागरिक १ जना संलग्नलाई देश फिर्ता पठाइएको थियो त्यस्तै, यौन दुराचारको अभियोगमा अमेरिका, क्यानडा र जर्मनका एक–एक जनालाई निस्काशित गरिएको थियो ।


क्लिकमान्डु