अर्थमन्त्रीलाई विज्ञको सुझाबः कि स्रोत बढाउ कि खर्च घटाउ
काठमाडौं । आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट तयारीमा जुटेको अर्थ मन्त्रालयले बजेट सम्बन्धी छलफललाई तीब्र बनाएकोछ । विज्ञहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई विस्तारकारी बजेट नल्याउन सुझाब दिएका छन् ।
गत आइतबार मात्रै अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र पूर्वअर्थसचिवहरुलाई छलफलमा बोलाएको थियो । छलफलमा उपस्थितहरुले अर्थमन्त्रीलाई कि त स्रोत बढाउन कि त खर्च घटाउन सुझाब दिएका छन् ।
‘विस्तारकारी बजेटलाई स्रोतले धान्न सक्दैन, त्यसैले विस्तारकारी बजेट ल्याउने हो भने स्रोत बढाउन, नत्र खर्च घटाउन सुझाब दिएका छौं,’ योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले क्लिकमाण्डूसँग भने ।
पूर्वअर्थसचिव समेत रहेका पूर्वमूख्य सचिब बिमल कोइरालाले पनि स्रोत बढाउन नसके खर्च घटाउनुपर्ने सुझाब दिए ।
‘सरकारको नीति तथा कार्यक्रम हेर्दा विस्तारकारी छ, त्यहाँ भएका कार्यक्रमहरु बजेटमा समाबेस गर्न स्रोतले पुग्दैन,’ कोइरालाले भने, ‘राष्ट्रिय प्राथमिकता र आवश्यकतालाई मध्यनजर गरेर योजना छनोट गर्न सुझाब दिएका छौं ।’
४ बजेदेखि छलफल शुरु हुने भनिएको भएपनि अर्थमन्त्री खतिवडा ढिलो आइपुगेपछि ४ः२५ बजेमात्रै छलफल शुरु भएको थियो । छलफल शुरु भएको १ घन्टापछि अर्थमन्त्री खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षता गर्ने जरुरी बैठकमा जानु छ भन्दै हिँडेका थिए । खतिवडा योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेललाई अध्यक्षता गर्न लगाएर बाहिरिएका थिए ।
छलफलका क्रममा योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले निकै लामो र लिखित सुझाब दिएका थिए । उनले क्षेत्रगतरुमा गर्नुपर्ने कामहरु र १५औं योजनाका प्राथमिकताहरु पनि उल्लेख गरेका थिए ।
छलफलमा पूर्व उपाध्यक्षहरु शंकर शर्मा पनि विस्तारकारी बजेटका लागि स्रोतको अभाव हुने बताए ।
छलफलमा आयोगका पूर्व उपाध्यक्षहरु स्वर्णिम वाग्ले, गोविन्दराज पोखरेल, जगदीशचन्द्र पोखरेल, दिनेश देवकोटा उपस्थित थिएनन् ।
गोविन्दराज पोखरेल नेपाली कांग्रेसको जनजागरण अभियानका लागि प्युठानमा छन् भने जगदीशचन्द्र पोखरेल र देवकोटा काठमाडौं बाहिर छन् ।
काठमाडौंमै भएपनि वाग्ले भने सुझाब दिन गएनन् । वास्तविक सुझाब लिन भन्दा पनि औपचारिकताका लागि बोलाइएकाले आफू उपस्थित नभएको उनले जानकारी दिए ।
‘म केही काममा बिजी पनि थिएँ, फेरि त्यो औपचारिकताका लागि मात्रै बोलाइएको थियो, त्यसैले त्यहाँ जानुको औचित्य पनि थिएन,’ वाग्लेले भने ।
छलफलमा पूर्वअर्थसचिवमा रामेश्वर खनाल, कृष्णहरी बास्कोटा लगायत उपस्थित थिएनन् ।
पूर्वअर्थसचिबहरुमा बिमल कोइराला, बालानन्द शर्मा, शान्तराज सुवेदी, भानु आचार्य, शंकर शर्मा लगायत उपस्थित थिए ।
त्यसैगरी, योजना आयोगका पूर्वासदस्यहरुमा भीम न्यौपाने, गोविन्द नेपाल, भन्द्रमणि अधिकारी, डिल्लीराज खनाल लगायत उपस्थित थिए ।
सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब रुपैयाँको हाराहारीमा बजेट तयार गरिरहेको छ ।