एडीबीलाई अर्थमन्त्रीको आग्रहः थप ६ क्षेत्रमा सहयोग गर्नुस्



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एसियाली विकास बैंकलाई शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, स्वच्छ वातावरण, सामाजिक संरक्षणलगायत क्षेत्रमा लगानी बढाउन थप सहयोग गर्न आग्रह गरेका छन् ।

बैंकको ५२औं वोर्डस अफ गभर्नरको वार्षिक बैठकमा सहभागी भएका अर्थमन्त्री डा. खतिवडाले उक्त क्षेत्रमा लगानी बढाउन आग्रह गरेका हुन् ।

अर्थमन्त्री डा. खतिवडाले बैठकमा एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नकाओको बीच फिजीको नादीमा द्विपक्षीय बैठक भएको थियो ।

बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको वर्तमान सरकार उच्च आर्थिक बृद्धिदरको बाटोमा अघि बढेको मुद्रास्फिति नियन्त्रणमा रहेको, पुनर्निर्माणमा उल्लेख्य प्रगति भइरहेको तथा एडिबिको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहेको तथा उच्च आर्थिक बृद्धिदर कायमै राख्न सार्वजनिक र निजी दुवै क्षेत्रमा थप लगानीका लागि स्रोत परिचालन गर्नु परेको सम्बन्धमा अध्यक्षलाई अवगत गराएका छन् ।

उनले उच्च आर्थिक बृद्धिको पथमा गइरहेको आयात बढेको र व्यापार सन्तुलनमा चाप परेको भएपनि मुलुकको अर्थतन्त्र दिगो आर्थिक बृद्धि र स्थायित्वको बाटोमा अगाडी बढिरहेको स्पष्ट पारेका छन् ।

आर्थिक तथा सामाजिक विकासका परिसुचकहरुमा पनि राम्रो प्रगति गर्दै अगाडी बढिरहेको भन्दै बैंकका अध्यक्ष नकाओले भुकम्पपछिको पुनर्निर्माणको लागि भएको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा आफू सहभागी भएको स्मरण गराएका छन् ।

नेपाल दुई बर्षभित्र अति कम विकसित राष्ट्रको अवस्थावाट स्तरोन्ति हुने सम्भावनाको सन्दर्भ उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले केही वर्ष त्यसको दिगोपना हेर्नु पर्ने भएकोले र त्यतिञ्जेलसम्म बैंकले हाल प्रदान गरिरहेको सहुलियतपूर्ण कर्जाको सुविधा प्रदान गरिरहनु पर्ने आवश्यकता भएको अवगत गराए ।

भेटमा मन्त्री खतिवडाले दिर्घकालिन लगानीको लागि स्रोत जुटाउन लामो समयदेखि छलफलमा थाती रहेको स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने विषयमा आवश्यकता अनुसार अघि बढ्ने बताए ।

बैठकको शिलशिलामा फिजीको नादीमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुसँगको छलफलमा मन्त्री खतिवडाले दक्षिण एसियाको आर्थिक विकास मार्फत जनताको कल्याण र सम्बृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको बताए ।

दक्षिण एसिया विश्व आर्थिक बृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउँदै आएको भएतापनि अन्तरदेशीय सडक सञ्जाल र अन्तर आवद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा तीन गुणाभन्दा बढी बढाउन सकिने संभावना भए पनि पाँच प्रतिशतभन्दा माथि पुग्न नसकेको धारणा राखे ।

दक्षिण एसियाको समग्र आर्थिक स्थायित्वको चर्चा गर्दै नेपालले इतिहासमै लगातार तेस्रो बर्षसम्ममा औषत ७ प्रतिशत आर्थिक बृद्धि हासिल गर्न सफल भएको भन्दै उनले लगातार उच्च आर्थिक बृद्धि हासिल गरिरहँदा ब्यापार घाटा र बाहय क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको धारणा राखे ।

आगामी दिनमा उच्च आर्थिक बृद्धि र बाह्य क्षेत्र सन्तुलनका बीचमा सामन्जस्यता कायम गर्न सरकारले ध्यान पु¥याउने जानकारी दिए ।

बैठकको सिलसिलामा युरोपियन लगानी बैंक, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफ ट्रेजरीका उच्च पदस्थ अधिकारीहरुसँग भएको बेग्ला बेग्लै द्विपक्षीय वैठकहरुमा अर्थ मन्त्री डा. खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागि अनुकुल वातावरण निर्माण गर्न गरिएका सुधारहरुको बारेमा जानकारी गराए ।

नेपालमा उच्च आर्थिक बृद्दिलाई निरन्तरता दिन, पूर्वाधार विकास गर्न, संघीयताको सफल कार्यान्वयन गर्न, संविधान प्रदत्त मौलिक हकहरुको कार्यान्वयन गर्न, भूकम्प पछिको पुनर्निर्माण खास गरी आवास र सार्वजनिक भवनहरुको पूनर्निर्माणको कार्य सम्पन्न गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न सरकारलाई ठूलो राशीको लगानी आवश्यक भएकोले विकास साझेदारहरुलाई नेपालमा थप सहायता प्रदान गर्न आव्हान गरेका छन् ।

उनले नेपालमा लोकतान्त्रिक, स्थिर र विकासको स्पष्ट सोच भएको सरकार गठन भएकोले सहायताको पूर्ण सदुपयोग हुने विश्वाश दिलाए । अर्थ मन्त्रीसँग भएका ती बैठकहरुमा नेपालको आर्थिक बृद्धि र नेपाल सरकारले शुरु गरेका सुधारका कार्यहरु प्रति उत्साहित हँुदै विकास साझेदारका प्रतिनिधिहरुले नेपाललाई थप सहायता प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उनले बैठक तथा द्धिपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका सहभागीहरुलाई जानकारी दिए ।

मुलुक संघीयता कार्यान्वयनमा सफलतापूर्वक अघि बढिरहेको बताउँदै वित्तीय संघीयताको व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा सहयोग गर्न पनि अनुरोध गरे । मन्त्री खतिवडा बैठक सकेर शनिबार स्वेदश फर्किएका छन् ।


पुष्प दुलाल