एउटै खोलाबाट ५ वटा लघु जलविद्युत, कतिपय गाउँ अझै अन्धकार



रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत आयोजना सञ्चालनमा छन । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत आयोजना निर्माण भएका छन भने दुईवटा ठूला आयोजनाको काम पनि भइरहेको छ ।

गाउँलाई उज्यालो बनाउने योजनासहित यस खोलामा करोडांै बजेट लगानी गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । बागलुङ र रुकुमपूर्वको सीमा भूमे–१ लुकुम गाउँलाई शिर बनाएर बग्ने यस खोलामा मात्रै पाँच वटा लघुजलविद्युत आयोजना सञ्चालनमा रहेका छन ।

गाउँपालिका अध्यक्ष बुढाका अनुशार भूमे गाउँपालिका–१ काँक्रीमा ८५ किलोवाट, वडा नं–२ त्रिवेणीमा ४५ किलोवाट, वडा नं–३ क्याङ्सीमा ३५ किलोवाट, –५ सिसाघारीमा १३५ किलोवाट र वडा नं–५ सेरावाङमा–५ किलोवाट गरी जम्मा ३०५ किलोवाट विद्युत् उत्पादन भएको छ ।

उक्त गाउँपालिका अन्तर्गतका कतिपय ठाउँ अन्धकार नै छन । सबै नागरिकले बत्तीको उज्यालो पाउन सकिरहेका छैनन । नागरिकको आवश्यकतालाई परिपूर्ति गर्दै गाउँपालिकाको सबै ठाउँमा विद्युत विस्तार गरिने अध्यक्ष बुढामगरले बताए ।

लुकुम खोलामा गाउँपालिकाले मेघा प्रोजेक्ट सञ्चालन गर्ने गरी पूर्व सम्भाव्यता अध्यनको कामलाई अगाडि बढाइसकेको र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अगाडि बढाउने तयारी भइरहेको अध्यक्ष बुढामगरले बताए । ‘‘लुकुम खोलाबाटै हामी ठूला आयोजना सञ्चालनमा ल्याएर अध्यारोमुक्त जिल्ला बनाउने लक्ष लिएका छौँ’’, अध्यक्ष बुढामगरले भने । रासस


क्लिकमान्डु