माथिल्लो त्रिशुली थ्री ए को परिक्षण प्रसारण वैशाख २२ देखि



काठमाडौं । माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाले वैशाख २२ गतदेखि परिक्षण प्रसारण गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कूल ६० मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो यूनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ ।

यही वैशाख १७ गते विद्युत् उत्पादन नगरीकन गरिएको परिक्षण सफल भएसँगै आयोजनाले २२ गते देखि २२० केभी क्षमताको प्रसारण लाइनमा परिक्षण प्रसारण गर्ने भएको हो ।

प्राधिकरणले शुक्रबार एक सूचना मार्फत उक्त दिन परिक्षणको रुपमा विद्युत् प्रसारण हुने भएकाले टावरको वरपर नजान तथा कुनै पनि प्रकारको अवरोध नगर्न सूचना मार्फत जानकारी गराएको छ । सोही दिनदेखि प्रसारण लाइन समेत पूर्ण रुपमा सञ्चालनमा आउने भएकाले प्रसारण लाइनको वरपर नजान तथा कुनै प्रकारको अवरोध नगर्न समेत आग्रह गरेको छ ।

रसुवा र नुवाकोटमा सीमानामा निर्माण भएको सो आयोजना निर्माण सुरु भएको १० वर्षपछि सम्पन्न भएको हो । प्राधिकरणको रुग्ण मध्येको एक आयोजना सस्म्पन्न भएपछि अन्य आयोजनालाई समेत अगाडि बढाउन सहज हुने प्राधिकरणले विश्वास लिएको छ ।

चीन सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको सो आयोजना नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ । प्राधिकरणले प्रसारण प्रणालीको १५–१५ मिटर दाँया बाँया नजान तथा प्रसारण लाइनको टावर तथा पोलमा छुने तथा चलाउने नगर्न समेत सबैलाई ध्यानकर्षण गराएको छ ।

सूचनालाई बेवास्था गरेर दुर्घटना भए प्राधिकरण जिम्मेवार नहुने समेत सूचनामा उल्लेख छ ।


क्लिकमान्डु