रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँड हु्ँदै, कति कित्ता सेयर पर्ला ?
काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण सेयरको आज बाँडफाँड हुने भएको छ ।
पछिल्लो पटक जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको ती दुई कम्पनीको सेयरमा ३ अर्ब १७ करोड बराबरको आवेदन परेको थियो ।
ती दुई कम्पनीको सेयरमा लगानीकर्ताको चर्को आकर्षण देखिएको थियो ।
केही समय पहिले साधारण सेयर बिक्री गरेको यूनियन हाइड्रो पावरको सेयर नबिकेर हैरान भएको बेला रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सेयरमा भने लगानीकर्ताले ठूलो विश्वासका साथ लगानी गरेका छन् ।
चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाका अनुसार ती दुई आयोजनाको साधारण सेयरमा ३ अर्ब १७ करोड बढीको आवेदन परेको छ ।
कोइरालाका अनुसार साञ्जेनमा ३ लाख ४ हजार लगानीकर्ताले आवेदन गरेका छनु् भने रसुवागढीको सेयरमा ३ लाख ७ हजारले आवेदन गरेका छन् ।
ती दुई कम्पनीले १ अर्ब ५४ करोड बढीको साधारण सेयर बिक्री गरेका थिए । लगानीकर्ताले ठूलो विश्वासका साथ लगानी गरेको सम्बन्धित आयोजनाका प्रमुखले जानकारी दिएका छन् ।
कूल १११ मेगावाट क्षमताको रसुवागढीको भौतिक प्रगति ७० प्रतिशत भएको छ भने साञ्जेन मध्ये माथिल्लो साञ्जेनको ७७ प्रतिशत र साञ्जेनको ७२ प्रतिशत भौतिक प्रगति भएको छ ।
माग भन्दा बढी आवेदन परेका कारण रसुवागढीमा बढीमा ३० कित्ता र साञ्जेनमा २० कित्ताको दरले सेयर पाउने बताइएको छ ।