नबिल बैंकले ५ घण्टा अर्बपति बनाइदिएपछि….



काठमाडौं । डा सन्तोष नेपालले मंगलबार नबिल बैंकको आफ्नो खाता हेरे । नबिल बैंकले आफ्नो खाताबाट ऋण लिएको रकम काट्यो कि काटेन भनेर हेर्दा उनी झस्किए । कारण  उनको खातामा २३ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको थियो । त्यो बेला ४ बजेको थियो ।

नेपालको खातामा कसैले पैसा जम्मा गरेर २३ अर्ब ७५ करोड आएको थिएन ।  न उनको खातामा विदेशबाट पैसा आएको थियो । नबिल बैंकको सिस्टममा भएको खराबीको कारण उनको खातामा २३ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको देखिएको थियो ।

खातामा २३ अर्ब ७५ करोड रुपैयाँ देखिएपछि उनले बैंकमा फोन गरे । उनले बैंकका कर्मचारीलाई भने,‘मलाई बैंकको अर्ब पैसा चाहिदैन,मेरो खातामा भएको केही हजार फिर्ता देउ।’ नेपालले नबिलका कर्मचारीलाई भन्दा कर्मचारीको जवाफ भने रोचक थियो । कर्मचारीले नेपाललाई तपाईको खातामा विदेशबाट पैसा आएको होला भन्ने जवाफ फर्काए ।

त्यसपछि बैंकमा उनको डिजिटल विभागका प्रमुख सनत पौडेलसँग सम्पर्क भयो । बेलुका ८ बजे पौडेललाई घटनाको जानकारी गराएपछि उनी समस्या समाधानमा लागे । पौडेलले नेपाललाई सिस्टममा भएको खराबीको कारण खातामा २३ अर्ब देखिएको बताए ।

९ बजे बल्ल नबिल बैंकलाई २३ अर्ब फिर्ता गर्न नेपाल सफल भए । अर्थात नबिलको सिस्टमले काम गर्यो । ‘२३ अर्ब नबिललाई फिर्ता गरेर आफ्नो खातामा भएको हजार रुपैयाँ फिर्ता आएपछि बल्ल निद्रा लाग्यो।’

 


क्लिकमान्डु