विद्युत नहुँदा ३ महीनादेखि डोल्पा अन्धकार, अस्पतालमा एक्सरे चलाउन समेत समस्या




काठमाडौ । तीन महीनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत सेवा नहुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन ।

विद्युत सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । एक्सरे मेशिन चलाउने विद्युत नहुँदा जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन समस्या भएको हो । अस्पतालमा जोडिएका सौर्य ऊर्जाबाट आपूर्ति भएको विद्युतले काम नगर्दा दैनिक समस्या भएको अस्पतालले जनाएको छ । स्थानीय जैरीगाड जलविद्युत आयोजनाको नहर सुक्खा पहिरोले तीन महीना अघि भत्किएपछि डोल्पा सदरमुकामलगायत एक हजार २०० घरधुरीमा विद्युत सेवा ठप्प हुँदै आएको छ । विद्युत नहुँदा जिल्ला अस्पतालमा एक्सरे गर्ने बिरामीका आफन्त आफै जेनेरेटर भाडामा लिएर एक्सरे गर्दै आएका छन ।

स्थानीयवासी जयकृष्ण बुढाले छोराको हात भाँचिएपछि भाडामा जेनेरेटर लिएर एक्सरे मेशिन चलाएको बताउनुभयो । मोटो रकम तिरेर जेनेरेटर भाडामा लिई एक्सरे मेशिन सञ्चालन गरेको उहाँको भनाइ छ । डोल्पा अस्पतालमा अहिले डिजिटल एक्सरेसमेत नभएको चिकित्सकले बताएका छन् । विद्युत् नभएकाले विद्यार्थीलाई अध्ययनमा समस्या भएको छ । त्यस्तै डोल्पाका रहेका बैंक सञ्चालन गर्न समस्याा भएको छ । स्थानीय रेडियोले जेनेरेटर प्रयोग गरी समाचार मात्र प्रसारण गर्दे आएका छन ।
अवरुद्ध विद्युत सेवा सञ्चालन गर्नका लागि नेपाल विद्युत प्राविकरणबाट ५९ लाख रकम विनियोजन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए । उनले भने, “विद्युत नहुँदा जिल्लाको सबै विद्युतबाट हुने काम ठप्प भएको छ”, अहिले प्राधिकरणबाट रकम विनियोजन भई आउन थालेको छ, उपभोक्ता समितिमार्फत् काम गरेर छिटो विद्युत सञ्चालन गरिने छ ।

विद्युत सञ्चालन गर्नका लागि निरन्तर सम्पर्कमा रहेर दैनिक पहल गरिएकाले रकम प्राप्त भएको छ, काम एक, दुई दिनमा शुरु हुने प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताए ।


क्लिकमान्डु