आंतकित बनाएर राजस्वको लक्ष्य पुरा गर्ने पक्षमा छैनः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आंतकित बनाएर राजस्वको लक्ष्य पुरा गर्ने पक्षमा आफु नरहेको बताएका छन् ।

नेपाल व्यवस्थापन संघ(म्यान)ले आयोजना गरेको बजेट पूर्वको छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले राजस्व बढाउनको लागि बजारलाई आंतकित पार्ने पक्षमा आफु नरहेको बताए ।

कार्यक्रममा उपस्थित पूर्व अर्थसचिव समेत रहेका तथा हाल सूचना आयोगमा प्रमुख आयुक्त रहेका कृष्णहरि बास्कोटा तर्फ देखाउदै अर्थमन्त्रीले भने,‘विगतमा त्रसाएर राजस्वको लक्ष्य पुरा हुन्थ्यो होइन ? बास्कोटा जी,यो पटक हामीले त्यो काम गरेका छैनौ।’

सरकारले निर्धारण गरेको राजस्व लक्ष्य पुरा भएको छैन । चैत महिनामा मात्र ७३ अर्ब रुपैयाँको ग्याप देखिएको छ ।

यो विषयमा अर्थमन्त्री खतिवडाले बजारमा दवाव दिने र अनावश्यक वस्तुको आयात गरेर राजस्व बढाउने पक्षमा नरहेको बताए ।

‘अर्थमन्त्रीको हिसाबले स्रोत व्यवस्थापन गर्नु प्रमुख दायित्व हो,यसमा राजस्वको लक्ष्य पुरा गर्नुपर्ने हुन्छ,’खतिवडाले भने ।

उनले विकास खर्च नभएको विषयमा भने भौतिक प्रगति भएपनि भुक्तानी नभएको बताए ।

संघिय बजेटको संरचना नबुझ्दा कुन विकास खर्च र कुन चालु खर्चमा धेरैले नबुझेको खतिवडाले भने,‘प्रदेश र स्थानीय तहमा जाने रकम केन्द्र सरकारको लागि चालु खर्च हुन्छ,यस्तै पोखरा विमानस्थल तथा भैरहवा विमानस्थल जस्ता आयोजनामा दिएको पैसा वित्तीय व्यवस्थामा गएको हुन्छ,चालु खर्च र वित्तीय व्यवस्थामा गएको पैसाले पनि विकास खर्चमा जान्छ,यसलाई बुझ्नु पर्यो।’


क्लिकमान्डु