बियरिस ट्रेन्ड सकियो, अब नेप्से ३५०० अंकमाथि पुग्छः अम्बिका पौडेलको विश्लेषण (भिडियोसहित)



काठमाडौं । सेयर बजारका ठूला लगानीकर्ता अम्बिका प्रसाद पौडेलले सेयर बजारमा बियरिस ट्रेण्ड सकिएको र अब नेप्से परिसूचक ३५०० अंकमाथि पुग्ने बताएका छन् ।

क्लिकमाण्डूसँगको कुराकानीमा पौडेलले सेयर बजारको बियरिस ट्रेण्डको चक्र अब पुरा भएको बताए ।

‘यो आर्थिक वर्षको अन्त्यसम्ममा नेप्से परिसूचक १४ सय पुग्छ, त्यो आधारले नै बजार बढ्नेतर्फ अगाडि बढ्छ,’ उनले भने ।

पौडेलले नेप्से परिसूचक ३५०० अंकसम्म पुग्नको लागि भने ३ देखि ४ वर्षसम्म लाग्ने बताए ।

‘सेयर बजार बढ्ने र घट्ने चरणलाई विश्लेषण गर्दा अब बढ्नेतर्फ लागेको छ, यस आधारदेखि ३ देखि ४ वर्षभित्रमा ३५०० बिन्दुसम्म बजार पुग्ने छ,’ पौडेलले भने ।


केहीदिन यतादेखि नेप्से परिसूचक बढ्दो प्रवृत्तिमा छ । लगानीकर्ताहरुले अब नेप्सेले बुलिस ट्रेन्ड पक्रिएको बताउन थालेका छन् ।

‘सरकारले गर्नुपर्ने धेरै सुधारका कामहरु पनि गरिसकेको छ, र नेप्सेले केही वर्षमा आफ्नो चक्रमा परिक्रमा गर्छ, अब नेप्से बुलिस ट्रेन्डमा गयो,’ उनले भने, ‘३/४ वर्षको अवधिमा विभिन्न उत्तारचढाब पार गर्दै ३५०० माथि पुग्छ ।’

उनले सेयर बजारमा बुलिस ट्रेण्ड हुँदैमा लगानीकर्ता नकमाउने र लगानीगर्नको लागि कम्पनी छनोटमा विशेष ध्यान दिनुपर्ने बताए ।

‘धानको ब्याड हालेपछि चामल खानको लागि मंसिरमा धान काट्नुपर्छ, त्यसै छाड्ने हो भने चामल खान पाइदैन, लगानीकर्ताले पनि फाइदा लिनको लागि उचित समयमा बाली भित्राउनुपर्छ,’ पौडेलले भने ।

लगानी दृष्टिकोणले सेयर बजारमा लगानी गर्न निकै नै सजिलो रहेको जसले पनि लगानी गर्न सक्ने पौडेलको भनाई छ ।


पुष्प दुलाल