मर्जर भाँडिएपछि एभरेष्ट बैंकका लगानीकर्तालाई मालामाल, लक्ष्मी बैंककालाई पनि घाटा छैन




काठमाडौं । ३ वर्षदेखि एभरेष्ट र लक्ष्मी बैंकको मर्जरको चर्चा चल्यो ।

मर्जरको विषयलाई लिएर खेलाडीहरुले यी दुई बैंकको सेयरमा मज्जाले खेल्ने मौका पाए । दुबै बैंकको सेयर मूल्य बढ्यो पनि । कमाउनेहरुले मालामाल कमाए पनि ।

खासगरी मर्जरको हल्लाले एभरेष्टको तुलनामा लक्ष्मी बैंकको सेयर मूल्य बढेको थियो । त्यो बेला लक्ष्मी बैंकको सेयरमा खेलबाड गर्न सक्नेहरुले राम्रै दाम कमाए ।

अहिले यी दुई बैंकको मर्जर टुंगिएको छ । दुबै बैंकले नयाँ जोडी खोज्न थालिसकेका छन् । सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो)मा कुरा नमिले पछि एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जर भाँडिएको हो ।

२ महिनाको अन्तरमा एभरेष्ट बैंकको सेयर ५०८ रुपैयाँबाट बढेर ६७० रुपैयाँ पुगेको छ । यो २ महिनाको अवधिका एभरेष्ट बैंकको सेयर मूल्य प्रति कित्ता १६२ रुपैयाँले बढेको छ । यो ३२ प्रतिशतको वृद्धि हो ।

एभरेष्ट बैंकको सेयर फागुन ९ गते (फेब्रुअरी २१ मा) ५०८ रुपैयाँ प्रतिकित्ता रहेको थियो । फागुन १२ गते ( फेब्रुअरी २४ मा) दुई रुपैयाँ घटेर ५०६ रुपैयाँमा झर्यो ।

यस्तै मार्च २४ (चैत १० गते) ५५५ रुपैयाँमा पुग्यो । क्रमैसँग बढेको सेयर (अप्रील ७) चैत २४ गते ६१४ रुपैयाँ पुग्यो । चैत २८ गते घटेर पुन ६०० मा आएको सेयर आज (सोमबार) आइतबारको तुलनामा १० अंकले घटेर ६७० रुपैयाँ कायम भएको छ ।

यता लक्ष्मी बैंकको सेयर पनि दुई महिना अघिको अवधिमा ४५ रुपैयाँले बढेको छ । (फेब्रुअरी २१ मा) फाुगन ९ गते १८५ रुपैयाँ रहेको लक्ष्मी बैंकको सेयर फागुन १२ गते (२४ तारिक)मा २ रुपैयाँले घटेर १८३ रुपैयाँ कायम भयो ।

फागुन २८ गते (मार्च १२ मा) बढेर २०२ रुपैयाँमा पुगेको बैंकको सेयर चैत १० गते (मार्च २४) मा पुग्दा घटेर १८८ रुपैयाँमा पुग्यो । पुनः क्रमैसँग बढ्दै गएको सेयर मुल्य आज (सोमबार) सम्म आईपुग्दा २३० रुपैयाँ कायम भएको छ । यो २५ प्रतिशतको वृद्धि हो ।

मर्जर प्रक्रिया अवरुद्ध भएपछि पनि एभरेष्ट बैंकका सेयरधनीले ३२ प्रतिशत र लक्ष्मीका सेयरधनीले २५ प्रतिशत नाफा कमाएका छन् ।


पुष्प दुलाल