बिग मर्जरको हल्लाले वाणिज्य बैंकहरुको सेयरमा झुम्मिए लगानीकर्ता, जोखिम कति ?



काठमाडौं । नयाँ वर्ष २०७६ लागेपछि सेयर बजारमा एकाएक उछाल आएको छ । खासगरी वाणिज्य बैंकहरुको सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

केही बैंकबाहेक अधिकांश वाणिज्य बैंकहरुको सेयरमा खरिद चाप उच्च छ । यसको अर्थ बेच्नेहरुभन्दा किन्नेहरुको संख्या अत्याधिक छ ।
माग र आपूर्तिले मूल्यको निर्धारण गर्छ । अर्थशास्त्रको यही नियम अनुसार बेच्नेभन्दा किन्ने बढी भएपछि नयाँ वर्ष २०७६ सँगै वाणिज्य बैंकहरुको सेयरमूल्य बढेको हो ।

बैशाख लागेपछि मात्रै नेप्से सूचक १०० अंकको हाराहारीमा बढेको छ । बैंकिङ समूहले नेप्सेमा उछाल ल्याएको हो ।

अहिले सेयर बजार बढ्नुका पछि ३ वटा मूख्य कारण भएको जाकारहरु बताउँछन् ।

हल्लाको पछि लागेर लगानी गर्दा जोखिम हुने भएकाले कम्पनीको अवस्था हेरेर लगानी गर्नुपर्ने विज्ञहरुको सुझाब छ ।

पहिलो कारण हो, लामो समय सेयर बजार घटेको र अहिले नीतिगत सुधारहरु भएपछि लगानीकर्तामा उत्साह देखिएकाले बजार बढेको हो ।

तुलनात्मकरुपमा ब्याजदर पनि केही घटेको छ भने तरलता पनि केही सहज भएको छ । त्यसको प्रभाव सेयर बजारमा परेको हुनसक्छ ।

दोस्रो कारण हो बैंकरुले प्रकाशित गरेको चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण । अहिलेसम्म वित्तीय विवरण सार्वजानिक गरेका बैंकहरुको नाफामा राम्रो सुधार देखिन्छ । जसकारण पनि लगानीकर्ताहरु बैंकको सेयरमा आकर्षित भएका हुन सक्छन् ।

माछापुच्छ्रे बैंकले गत वर्ष चैत मसान्तको तुलनामा यो चैत मसान्तमा ४५ प्रतिशतले नाफा बढाउँदै १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, एभरेष्ट बैंकले गत वर्षको चैत मसान्तकोभन्दा ३४ करोड रुपैयाँले नाफा बढाएर यो चैत मसान्तमा २ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, सिटिजन्स बैंकले पनि चैत मसान्तसम्ममा १ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ८ महिनामै बैंकहरुले अर्ब माथिको नाफा कमाएपछि लगानीकर्ताहरु उत्साहित भएका हुनसक्छन् ।

बैंकहरुकै सेयर बढ्नुको यी भन्दा महत्वपूर्ण कारण हो बिग मर्जरको हल्ला । अर्थात् वाणिज्य बैंकहरुबीच नै मर्जरको हल्ला चलिरहेको छ ।
नियामक नेपाल राष्ट्र बैंकले बैंकका लगानीकर्ता, सञ्चालक, सीइओलगायतका उच्च व्यवस्थापनलाई अनौपचारिकरुपमा मर्जरमा जान दबाब दिइरहेका छन् ।

अर्थमन्त्री र गभर्नरले पनि सार्वजनिकरुपमै बैंकहरुको संख्या धेरै भएको र घटाउनुपर्ने आवश्यकता रहेको बताउँदै आएका छन् ।

अर्थमन्त्री र गभर्नरले आगामी बजेट र मौद्रिक नीतिमार्फत् ठूला बैंकहरुको बीच मर्जर गराउने नीति ल्याउन सक्ने संकेत गरिसकेका छन् । जसकारण बैंकका लगानीकर्ताहरुबीच मर्जरको छलफल तीब्र बन्दै गएको छ ।

नीति आइहाल्यो भने कसरी अघि बढ्ने भनेर बैंकका लगनीकर्ताहरुले संभावित पार्टनर खोज्न थालिसकेका छन् । यद्यपि ठूला बैंकहरुको मर्जर सिरियसली भने अघि बढेको छैन ।

‘धेरै बैंकसँग जिस्किरहेका छौं, उपयुक्त अवस्था र पार्टनर भेटिएपछि मर्जरमा जान्छौं,’ एक बैंकका अध्यक्षले क्लिकमाण्डूसँग भने, ‘वास्तवमा भन्दा राष्ट्र बैंकको नीति कस्तो आउँछ पर्ख र हेरको अवस्थामा छौं ।’

बैंकहरुको संख्या घटाउने हो सरकारले आयकर लगायतमा छुट दिनुपर्ने बैंकका सञ्चालकहरुको माग छ ।

‘आयरक छुट दिने हो भने दबाब दिनै पर्दैन बैंकहरु आफैं मर्जरमा जान्छन्,’ उनले भने, ‘अर्थमन्त्रीले बजेटमा आयकर छुटको व्यवस्था गर्नुभयो भने संख्या १२/१४ वटामा झर्छ ।’

ठूला बैंकहरुबीच मर्ज भयो भने इपिएस राम्रो हुने र मूल्य बढ्ने अनुमानमा लगानीकर्ताहरु बैंकको सेयरमा आकर्षित भएका हुन् । होइन भने अहिले नेप्से बढ्दा वाणिज्य बैंकबाहेकका अन्य उपसूचक खासै बढेका छैनन् ।

‘वाणिज्य बैंकको सेयर मूल्य बढ्नु र बीमा कम्पनीको नबढ्नुले प्रष्ट संकेत गर्छ,’ एक विश्लेषकले भने ।

हल्लाको पछि लागेर लगानी गर्दा जोखिम हुने भएकाले कम्पनीको अवस्था हेरेर लगानी गर्नुपर्ने विज्ञहरुको सुझाब छ ।


पुष्प दुलाल