प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भनेः ट्राफिक प्रहरीले भत्ता पाएपछि मनोबल बढाए



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताएका छन् ।

महानिरीक्षक खनालले आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै उनले देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताए ।

महानिरीक्षक खनालले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बढेको भन्दै अझै राम्रो सेवा प्रदान गर्न आग्रह गरे । ‘ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालीन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ,’ उनले भने ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले तीनमहीने कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो । हाल काठमाडौँ उपत्यकामा एक हजार ५०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन तथा काठमाडौँ उपत्यकामा मात्र ११ लाख सवारी साधन गुड्छन् ।रासस


क्लिकमान्डु