विदेशी लगानीका उद्योगले नेपाली बैंकबाट ऋण लिदा तरलता अभाव भयो भन्न मिल्दैनः सिइओ अधिकारी



काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले विदेशी लगानीमा उद्योगले नेपालमा ऋण लिदा तरलता अभाव भयो भनेर भन्न नमिल्ने बताए ।

लगानी बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकारीले विदेशबाट निश्चित प्रतिशत इक्विटी लिएर आएपछि यहाँको बैंकबाट ऋण लिनमिल्ने तर्क गरे ।

पछिल्लो समय विदेशी लगानीको रुपमा आएका अरुण तेस्रो,होङ्सी शिवम् सिमेन्टमा नेपाली बैंकहरुले ठूलो रकम ऋण दिएपछि त्यसलाई स्वदेशी भन्ने कि विदेशी लगानी भन्ने विवाद छ ।

स्वदेशी लगानीकर्ताहरुले देशभित्र ऋणदिनको लागि रकम अभाव भएको बेला विदेशी कम्पनीले विदेशी लगानी भन्दै देशभित्रका बैंकले दिएको ऋण प्रयोग गरेर परियोजना बनाउदा समस्या हुने बताउदै आएका छन् ।

‘लगानीको सम्झौता हुँदा नै निश्चित प्रतिशत इक्विटीको रुपमा विदेशी कम्पनीले पुँजी देशभित्र भित्राएका हुन्छन्,यसले बैंकलाई नै थप ऋण दिन सक्ने बनाउँछ,’लगानी बोर्डका सिइओ अधिकारीले भने ।

राष्ट्र बैंकमा डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीले बैंकिङ प्रणालीमा ऋण दिनको लागि भएको समस्या अरु नै कारणबाट भएको र विदेशी कम्पनीलाई ऋण दिदा यो समस्या नआएको बताए ।

‘विदेशी कम्पनीले इक्विटी ल्याएपछि यहा व्यवसाय संचालनको लागि ओभरड्राफ्ट,वर्किङ क्यापिटल जस्ता शिर्षकमा ऋण लिनुपर्छ,यसलाई आधार मानेर विदेशी लगानीको होइन भन्न मिल्दैन,’अधिकारीले भने ।


क्लिकमान्डु