लगानी सम्मेलनका लागि प्रदेश ३ ले शुरु गर्यो अन्तक्रिया कार्यक्रम




चितवन । प्रदेश नं ३ मा लगानी भित्राउनका लागि आज र भोलि लगानीकर्तासँग बृहत अन्तक्र्रिया कार्यक्रम गरिने भएको छ ।

प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत कार्यक्रम गर्न लागेको हो । आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा लगानी केन्द्रीकृत गर्न उत्प्रेरित गरिने बताए ।

तीन नं प्रदेशमा सङ्घीय राजधानी रहेको भन्दै उनले देशको २१ प्रतिशत जनता यही क्षेत्रमा बसोबास गर्ने जानकारी दिए । अत्यधिक माग रहेको र साधन स्रोतको हिसाबले पनि सम्पन्न यस प्रदेशमा लगानीका धेरै अवसर रहेको उनले बताए ।

कार्यक्रममा लगानीका क्षेत्रहरुलाई प्रस्ट्याइने बताउँदै उनले १३ जिल्लाका उद्योगी–व्यवसायी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, राष्ट्रिय पूँजीपति तथा उद्योगपति छलफलमा सहभागी हुने जानकारी दिए ।

प्रदेश नं ३ का विभागीय मन्त्रीहरुले आ–आफ्नो क्षेत्रको छलफलमा अध्यक्षता ग्रहण गरी गहिराइमा विज्ञहरुसहित छलफल गरिने पनि सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा पहिलो दिन दुई वटा कार्यपत्र र दोस्रो दिन विशेष क्षेत्रका विज्ञबाट पाँच वटा कार्यपत्र प्रस्तुत हुनेछन ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले यो कार्यक्रमले निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने बताए । लगानीकर्ताको सुरक्षा र सहजीकरण प्रदेश सरकारले गर्ने बताउँदै उहाँले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण सिर्जना गरिने बताए । रासस


क्लिकमान्डु