ओली सरकार आएपछि उपभोक्तालाई राहत, राष्ट्र बैंक भन्छ- तरकारी र चिनीको मूल्य घट्यो



काठमाडौं । केपी शर्मा ओली आएको एकवर्षमा उपभोक्तालाई राहत भएको देखिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले मुख्य रुपमा तरकारीको भाउँ घटेको देखिएको छ । गत आर्थिक वर्षमा तरकारीको भाउँ औसतमा २८.४ प्रतिशतले बढेको थियो । यो वर्ष भने १०.७ प्रतिशतले तरकारीको भाउँ घटेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
यसको अर्थ गतवर्ष सय रुपैयाँमा पाइने तरकारी यो वर्ष ९० रुपैयाँमा पाइन्छ ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको आठ महिनामा आईपुग्दा खाध्य तथा पेय पदार्थको मूल्यबृद्धिदर घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिनासम्ममा खाद्य तथा पेश पदार्थको मूल्य घटेको छ । गत आवको सोहि अवधिमा ५.६ प्रतिशत रहेकोमा चालु आवको सोहि अवधिमा आईपुग्दा २.२ प्रतिशत रहेको छ ।
गत आवको सोहि अवधिमा २८.४ प्रतिशत रहेको तरकारीको मूल्य चालु आवको सोहि अवधिमा १०.७ प्रतिशतले घटेको छ । यस्तै गत आवको आठ महिनामा दलहन तथा गुडागुडी मूल्य २२.५ प्रतिशतले घटेकोमा चालु आवको सोहि अवधिमा २.५ प्रतिशतले घटेको छ भने चिनी तथा चिनीजन्य पदार्थको मूल्य गत आवको सोहि अवधिमा २.४ प्रतिशतले घटेकोमा चालु आवको सोहि अवधिमा १.८ प्रतिशतले घटेको छ ।

चालु आवको आठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.० प्रतिशत रहेको थियो । आठ महिनाको अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ६.३ प्रतिशत रहेको थियो ।

गत फागुन महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.५ प्रतिशत, पहाडमा ४.६ प्रतिशत, काठमाडौं उपत्यकामा ४.६ प्रतिशत र तराईमा ३.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.० प्रतिशत, ५.६ प्रतिशत, ४.५ प्रतिशत र ६.३ प्रतिशत रहेको थियो । गत फागुन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत र भारतको २.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ६.० प्रतिशत र भारतको ४.३ प्रतिशत रहेको थियो ।

गत फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, यातायात तथा उपकरणर पार्टस्लगायतका वस्तुहरूको मूल्यमा भएको वृद्धिले थोक मुद्रास्फीति बढ्न गएको हो ।


क्लिकमान्डु