वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा पनि बढ्यो विप्रेषण



काठमाडौं । वैदेशिक रोजगारीको जानेको संख्या घट्दा पनि विप्रेषण आप्रवाह बढिरहेको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको आठ महिनाको रिपोर्ट अनुसार खुद ट्रान्सफर आय २२.९ प्रतिशतले वृद्धि भई ६ खर्ब ६२ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.७ प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३८.३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको ५.४ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।


क्लिकमान्डु