शोधानान्तर घाटा ५९ अर्ब रुपैयाँ पुग्यो, एक महिनामा १० अर्बले बढ्यो



काठमाडौं । देशमा भित्रनेभन्दा बाहिरिने रकमको अन्तर(शोधानान्तर) ५९ अर्ब रुपैयाँले घाटामा गएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार शोधानान्तर ५८ अर्ब ९९ करोड रुपैयाँले घाटामा छ ।

पुस मसान्तसम्ममा शोधानान्तर ४९ अर्ब ३२ करोड रुपैयाँले घाटामा थियो । मुख्य रुपमा आयात अत्याधिक बढेको कारण शोधानान्तर घाटा बढी भएको हो ।

आयातको वृद्धिदर २३.८ प्रतिशत र निर्यातको वृद्धिदर १४.६ प्रतिशत रहेको छ । ६१ अर्ब २२ करोड रुपैयाँको आठ महिनामा निर्यात भएको छ ।

आठ महिनाको अवधीमा ९ खर्ब ४९ अर्ब रुपैयाँको आयात भएको छ । आर्थिक वर्ष २०७५/७६ को आठ महिनामा कुल वस्तु व्यापार घाटा २४.५ प्रतिशतले बढेर ८ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु