चैत महिनामा २० अर्बले बढ्यो विकास खर्च, यो वर्षपनि अन्तिममा नै खर्च हुने



काठमाडौं । स्थायी सरकार आएपनि विकास खर्चमा भने पुरानो नै अवस्था दोहरिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा सरकारले १ खर्ब ९ अर्ब रुपैयाँ विकास बजेट खर्च गरेको छ ।

यो भनेको विनियोजन बजेटको ३४.३७ प्रतिशत हो । यो वर्ष सरकारले ३ खर्ब १७ अर्ब रुपैयाँ विकास खर्चको लागि विनियोजन भएको थियो ।

चैत महिनामा मात्र सरकारले २० अर्ब रुपैयाँ विकास बजेट खर्च गरेको छ । फागुन महिनामा यस्तो रकम १५ अर्ब रुपैयाँ थियो ।

चैत महिनामा फागुन महिनाको तुलनामा विकास खर्च ५ अर्ब रुपैयाँले बढेको छ । यसले अबको तीन महिना विकास खर्च बढी हुने देखाएको छ ।

चालुतर्फ भने चैत मसान्तसम्म ४ खर्ब ६६ अर्ब रुपैयाँ खर्च भएको छ । यो भनेको विनियोजन बजेटको ५५.१३ प्रतिशत हो । यसमा प्रदेश र स्थानीय तहमा गएको पैसा समेत जोडिएको हुन्छ ।

चैत मसान्तमा स्थानीय तहले गर्ने पैसा पनि केही खर्च भएको छ ।


क्लिकमान्डु