हकप्रद र बोनस सेयरमा पुँजीगत लाभकरको पक्षमा महालेखा, ५७ करोड कर उठाउनुपर्ने निष्कर्ष



काठमाडौं । सेयरधनीले प्राप्त गर्ने हकप्रद र बोनस सेयरमा लाभकर लगाउनुपर्नेमा महालेखा परिक्षक कार्यालयले आफ्नो प्रतिवेदन दिएको छ ।

महालेखाले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सेयर बजारमा हकप्रद र बोनस सेयरको लाभकरबाट ५७ करोड ५८ लाख ७१ हजार रुपैयाँ कर नउठ्दा राज्यलाई नोक्सान परेको जनाएको छ । समायोजनका कारण वास्तविक लागत बढी समायोजन भई पुँजीगत लाभकर घटी दाखिला भएको महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।

यस वर्ष १४ अर्ब ८० करोड २१ लाख रुपैयाँको हकप्रद र बोनस सेयरको बिक्री गरेकोमा अथार्थ लागत २ अर्ब ३० करोड ४४ लाख कट्टा गरी १२ अर्ब ४९ करोड ७६ लाख आयकर ऐन २०५८ को अनुसूची १(४) बमोजिम ५ प्रतिशत हुने कर ६२ करोड ४८ लाख ८१ हजार असुल हुनुपर्ने थियो । तर सेयर बजारमा हकप्रद र बोनस सेयरमा कर नलाउँदा ४ करोड ९० लाख १० हजार रुपैयाँ मात्र असुल भएको महालेखापरीक्षाको कार्यालयले जनाएको छ । महालेखापरीक्षकले यसबाट परेको असरको यकिनगरी राजश्व असुलिमा प्रकावकारीता ल्याउन भनेको छ ।


क्लिकमान्डु