म्यानमारको एजीडी बैंकमा काम गरिरहेका सुनिल पोखरेल सिभिल बैंकको डेपुटी सीइओ



काठमाडौं । सिभिल बैंकले म्यानमारको बैंकमा काम गरिरहेका बैंकर सुनिल पोखरेललाई डेपुटी सीइओमा नियुक्ति गर्ने भएको छ । सर्ट लिस्टमा परेका प्रत्यासीहरुसँग बैंक सञ्चालक समितिले अन्तिम अन्तर्वार्ता गरिसकेको छ ।

अन्तर्वार्तापछि एशिया ग्रीन डेभलपमेन्ट बैंक (एजीडी) मा रिटेल बैंकिङ प्रमुखको रुपमा कार्यरत पोखरेललाई नियुक्ति गर्ने निर्णय गर्दै प्रक्रिया अघि बढाइएको बैंकका एक सञ्चालकले जानकारी दिए ।

‘सञ्चालक समितिले पोखरेललाई डेपुटी सीइओमा नियुक्ति गर्नका लागि प्रक्रिया अघि बढाउन सीइओलाई निर्देशन दिइसकेको छ,’ एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘अब सीइओ (गोविन्द गुरुङ) ले बोर्डमा प्रस्ताब ल्याउनुहुन्छ । र, बोर्डले संभवत यसैहप्ता नियुक्ति गर्छ ।’

बैंकको डेपुटी सीइओमा कार्यरत सुजित शाक्य जनता बैंकको डेपुटी सीइओ बनेर गएपछि रिक्त रहेको पदमा पोखरेललाई ल्याउन लागिएको हो ।

बिराटनर स्थायी घर भएका पोखरेलसँग स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ३० वर्ष, एनआइसी एशिया बैंकमा ५ वर्ष र म्यानमारको वर्ष काम गरेको अनुभव छ । एनआइसी एशिया बैंकमा पोखरेलले रिटेल बैंकिङ हेर्थे भने चिफ म्यानेजरको रुपमा कार्यरत थिए ।

‘विदेशी बैंकमा काम गरेको व्यक्तिलाई बैंकको उच्च व्यवस्थापनमा ल्याउँदा विदेशी कल्चर पनि भित्रिन्छ, त्यसैले हाम्रो रोजाईमा पोखरेलजी पर्नु भएको हो,’ ती सञ्चालकले भने, ‘रिटेल बैकिङ हाम्रो आवश्यकता हो, जसमा उहाँको दख्खल छ ।’

 


पुष्प दुलाल