कांग्रेसको आर्थिक नीतिमा कम्युनिष्ट हिडे : पूर्वअर्थमन्त्री आचार्य



गलेश्वर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले देशमा आर्थिक वृद्धिदर बढाउन विदेशी लगानी आवश्यक रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस म्याग्दीले आज सदरमुकाम बेनीस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले २०४८ सालपछि काङ्ग्रेसले अवलम्वन गरेको आर्थिक उदारवाद नीतिको अनुशरण गर्दै कम्युनिष्टहरु अघि बढेको बताए ।

“काङ्ग्रेसले २०४८ सालदेखि नै विदेशी लगानी आवश्यक देखेर विदेशी प्रविधि र पूँजी हस्तान्तरण गर्ने ऐन ल्याएको हो”, उनले भने ।

विदेशी लगानी भित्र्याउन नसके देशमा आर्थिक उन्नति नहुने दखेरै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले विदेशी लगानी भित्र्याउन शुरु गरेको नेता आचार्यको भनाइ थियो । “दश प्रतिशत आर्थिक वृद्धि गर्न अहिलेको भन्दा चार गुणा बढी लगानी गर्नुपर्छ”, उनले भने ।

आर्थिक वृद्धिदर बढाउन राज्यले उठाउने राजश्वबाट मात्रै सम्भवन नहुने र यसका लागि विदेशी लगानी आवश्यक पर्ने उनले बताए । काङ्ग्रेसलाई सशक्त बनाउन कार्यकर्ताले नेतृत्वपंक्तिलाई खबरदारी गर्नुपर्ने उहाँको भनाइ थिए । कार्यक्रममा उपसभापति माधवप्रसाद रेग्मी, सचिव क्या मीनबहादुर कार्की, कार्यकर्तालगायतले नेता आचार्यसँग विभिन्न जिज्ञासा राखेका थिए । रासस


क्लिकमान्डु