समयमा प्रतिवेदन नबुझाएका सहकारीबाट काठमाडौं महानगरले उठायो ५ लाख जरिवाना
काठमाडौं । काठमाडौँ महानगरपालिका अन्तर्गत सहकारी विभागले चालु अर्थिक वर्षको फागुन मसान्तसम्म रु पाँच लाख ११ हजार जरिवान दस्तुर असुल गरेको छ ।
तोकिएको समयमा वार्षिक प्रतिवेदन नबुझाएका र वार्षिक साधारण सभा नगरेका सहकारीबाट उक्त रकम असुल गरिएको महानगरको सहकारी विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।
सहकारीमा परेका ७० मुद्दमध्ये ५८ को फर्छौट गरिसकिएको र बाँकीको पनि यही चैतभित्रमा गरिसक्ने विभागले जानकारी गराएको छ । महानगरपालिकाले सर्वसाधारणको रकम फिर्ता नगरेका सहकारीलाई कारवाही गरी तीन करोड ११ लाख रकम केही दिनअघि असुल गरेको छ ।
सहकारी विभागमा परेको उजूरीका आधारमा ठगी गर्ने १३ सहकारीबाट सर्वसाधारणको उक्त रकम असुल उपर गरिएको हो । ठगी गर्नेमा न्युरोड, पुतलीसडक र बानेश्वर क्षेत्रका सहकारी बढी रहेका बताइएको छ ।
विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने कानूनी व्यवस्था भएअनुरुप महानगरले आफ्ना क्षेत्रभित्रका सहकारीलाई अनुगमन गरी कानूनी दायरामा ल्याउन थालेको हो ।
अहिले कामपामा एक हजार ८५६ सहकारी संस्था छन् । ती सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । अनुगमन गरी साना सहकारीलाई एकीकृत गरी भएका सहकारी सङ्ख्या घटाएर ७०० बनाउने तयारी पनि महानगरकोे छ । मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले समस्या भएको र तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरूप जान लागिएको हो ।
सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरूप कानूनीरूपमै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ । महानगरका सहकारीमा करीब दुई लाख सदस्य छन् भने आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब सात अर्ब शेयर, करीब रु ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको छ । रासस