वित्तीय संघियता कार्यान्वयनमा लाग्दा विकास खर्च भएनः अर्थमन्त्री
बिराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले प्रदेश सरकार गठन भएको पहिलोबर्ष वित्तीय संघीयता कार्यान्वयमा खर्चेका कारण अपेक्षितरुपमा बजेट खर्च हुन नसकेको बताएका छन ।
नेपाल आर्थिक पत्रकार समाजले मंगलबार विराटनगरमा आयोजना गरेको सार्वजनिक खर्च ब्यवस्थापन बिषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री आङबोले विकास र समृद्धि तीनै तहको सरकारको अर्जुन दृष्टि रहेको समेत बताए ।
मन्त्री आङ्बोले संघीयता कार्यान्वयन,कर्मचारी समायोजन,परम्परागत झन्झटिलो खरीद प्रकृया लगायतका कारण पनि सोचे अनुरुप अपेक्षित बजेट खर्च हुन नसकेको स्वीकार गरे । उनले बजेट खर्च गर्दा बित्तीय अनुशासनलाई कायम राखिनुपर्नेमा विशेष जोड दिएका छन ।
कार्यक्रममा सहभागि सरोकारवालाहरुले सरकारी ढुकुटीको रकम खर्चगर्दा वित्तीय अनुशासन कायम राख्न जोड दिएका थिए । अन्तरक्रियामा बोल्ने वक्ताहरुले जनताले गांस काटेर तिरेको रकम सरकारी ढुकुटीमा जम्मा हुने भएकाले रकम खर्च गर्दा वित्तीय अनुशासन प्रभावकारीरुपमा कायम राख्न जोड दिएका हुन ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले करदाताले तिरेको रकम बिकास निर्माण लगायत विभिन्न शिर्षकमा खर्चगर्दा समेत वित्तीय अनुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले विकास बजेट न्युन मात्र खर्च भएको कारण बजारमा उद्योगहरु समेत संकटमा परेको सुनाए । यस्तै मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले सही र पारदर्शी योजनाहरुमा लगानी नगर्दासम्म देशले गति लिन नसक्ने विचार ब्यक्त गरे ।