सर्किट ब्रेकमा नयाँ व्यवस्था



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शेयर बजारमा कुनै पनि कम्पनीको शेयर मूल्य चार प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लगाउने भएको छ ।

नेप्सेले सर्किट ब्रेकको प्रणालीमा नयाँ व्यवस्था गरी यही चैत १९ गते मंगलबारदेखि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।

स्टकको नयाँ व्यवस्थाअनुसार कारोवार शुरु भएको पहिलो १ घण्टामा चार प्रतिशतले घटे वा बढेमा १५ मिनेटसम्म सर्किट ब्रेक लाग्ने छ ।

यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ३० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोवार स्थगित गर्ने व्यवस्था कार्यान्वयन गर्न लागिएको छ ।

स्टकका अनुसार स्वचालित अनलाइन कारोवार प्रणाली कार्यान्वयनमा आएपछि ३ हजार ५५७ लगानीकर्ता समावेश भएका छन् ।

दैनिक अनलाइन कारोवारमा सक्रिय लगानीकर्ताको संख्या ५९६ रहेको छ । नेप्सेले अनलाइन कारोवारका लागि धितोपत्र दलाल व्यवसायीको कार्यालयमा गएर युजरनेम र पासवर्ड लिनसमेत आग्रह गरेको छ ।

अनलाइन कारोवार प्रणालीलाई थप व्यवस्थित बनाउन ‘नेशनल क्लियरिङ हाउस लिमिटेड’को प्रणालीमा आवद्ध गराई त्यसका सदस्य अन्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइनमा नै रकमको हस्तान्तरणको व्यवस्था मिलाइएको जनाएको छ ।


पुष्प दुलाल