मोरङ र सुनसरीमा पनि बर्ड फ्लू भेटियो



विराटनगर । मोरङ र सुनसरीमा बर्ड फ्लू फेला परेको छ । शनिबार यता मोरङमा एक र सुनसरीको एक कुखुरा फर्ममा बर्ड फ्लू भेटिएको हो ।

प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुनसरीको इटहरी उपमहानगरपलिका–१८ मा रहेको बिएण्डजी अर्गा्निक कृषि फर्म र मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा सीता अर्जुन बहुउद्देशीय सहकारीले सञ्चालक गरेको कुखुरा फर्ममा बर्ड फ्लू भेटिएको हो ।

बर्ड फ्लू भेटिएपछि दुई फार्मका सबै कुखुरा नष्ट गरी उच्च सतर्कता अपनाइएको प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले जानकारी दिए ।

इटहरी–१८ लविपुर टोलमा सञ्चालित बी एण्ड जी अर्गा्निक कृषि फर्मका करिब साढे ८ सय हाँस र लोकल कुखुरा नष्ट गरिएको छ । त्यस्तै सुन्दरहरैंचा नगरपालिका–११ फर्मका १ हजार ८ सय २३ लेयर्स कुखुरा नष्ट गरिएको छ । इटहरीमा सञ्चालित फर्मको कुखुरा बुधबार नष्ट गरी बिहीबार फर्मलाई सिल गरिएको छ ।

आइतबार सुन्दरहरैंचाको फार्म सिल गरिएको थियो । सिल गरेको खोर ४५ दिनसम्म बन्द रहनेछ । स्थानीय प्रशासनले बर्ड फ्लू भेटिएको स्थानदेखि तीन किलोमिटर आसपास उच्च सतर्कता अपनाएको छ । बर्ड फ्लू भेटिएको स्थानदेखि पाँच सय मिटर आसपासका कुखुरा बाहिर लैजान प्रतिबन्ध लगाइएको जिल्ला भेटनरी अस्पताल मोरङका प्रमुख डा.सुशील अधिकारीले जानकारी दिए ।

दुई स्थानमा बर्ड फ्लू देखिएपछि स्थानीय प्रशासनले कुखुरा ढुवानी र फर्महरुमा उच्च सतर्कता अपनाएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकरी मन्त्रालयसँगको समन्वयमा मोरङमा सतर्कता बढाइएको जानकारी दिए । मोरङमा रहेका फर्महरुको अनुगमन पनि सुरु भएको उनले बताए ।

यसैबीच बर्ड फ्लू भेटिएको दुईवटा फर्मलाई सरकारले राहत दिने भएको छ । इटहरीको कृषि फर्मलाई प्रदेश सरकारले दिने र सुन्दरहरैंचाको कृषि फर्मलाई केन्द्र सरकारलाई क्षतिपूर्ति माग गरेर लेखेर पठाउन लागिएको मन्त्रलयका सचिव बिष्टले जानकारी दिए ।


पुष्प दुलाल