सुधीर बस्नेत र इच्छाराज तामाङसहित ३२ व्यवसायीलाई कर तिर्न आउन राजस्वको सूचना



काठमाडौं । सरकारले घरजग्जा व्यवसायका कारण टाट पल्टिएका व्यवसायी सुधीर बस्नेतलाई कर तिर्न आउन १५ दिने सूचना जारी गरेको छ । मध्यमस्तरीय करदाता कार्यालयले आज एक सूचना मार्फत तोकिएको समय भित्र कर तिर्न आउन निर्देशन दिएको हो ।

कार्यालयले बस्नेतको कोहिनुर हिल हाउजिङ र ओरियन्ट विल्र्डस एण्ड डेभलपमेन्ट प्रालिलाई कर तिर्न आउन निर्देशन दिएको हो । ती २ वटा कम्पनीले आयकर तिरेका छैनन् । यस्तै कार्यालयले बस्नेतसहित ३२ व्यवसायीलाई समेत कर तिर्नका लागि तोकता गरेको हो ।

त्यसमा शान्तबहादुर लामाको इको इन्फ्रा विल्डर्स प्रालि, अखिलेश कुमार कर्णको परी फलफूल तथा तरकारी स्टोर, बलराम महत्तोको हाङजो कालिका जेभी, महेन्द्रनाथ लोहनीको पञ्चरत्न फिड्स प्रालि, वसन्तराज श्रेष्ठको सूर्यदर्शन सप्लायर्स प्रालिलगायत रहेका छन् । उनीहरुले आयकर र मूल्यअभिवृद्धि कर(भ्याट) तिर्न अटेर गरेको पाइएको कार्यालयले जनाएको छ ।

ती करदातालाई विभिन्न मितमा फोन सम्पर्क गर्दा, कारोवारस्थलको प्रत्यक्ष भ्रमण गर्दा र पत्राचार इमेल गर्दा समेत सम्पर्कमा नआएको तथा बक्यौता दाखिला समेत नगरेकाले १५ दिन भित्र कर सितर्न आउन ताकेता गरिएको सूचनामा उल्लेख छ ।

सो अवधि भित्र कर तिर्न नआएको खण्डमा सरकारी ऐन अनुसार नै बक्यौता रकम असुल गरिने सूचनामा उल्लेख छ ।

कर तिर्न अटेर गरेर कानूनी शासन र विधिको उल्लंघन गरेको भन्दै उनीहरुलाई तोकिएको समयमा बुझाउन र यसअघि बुझाएको भए कागजात सहित उपस्थित हुन समेत भनिएको छ ।

सो अवधिमा कुनै पनि रुपमा सम्पर्कमा नआए कानून अनुसार रकम उठाउने र कारवाही गरिने सूचनामा उल्लेख छ ।

यस्तै कार्यालयले सिटी वस्ती विकास कम्पनीका इच्छा राज तामाङलाई समेत आयकर तिर्न आउन आग्रह गरेको छ ।


पुष्प दुलाल