प्रदेश १ सरकारले पर्यटन प्रहरी ब्यवस्था गर्ने,पथ प्रदर्शकका लागि परीक्षा उतिर्ण हुनुपर्ने



विराटनगर । प्रदेश नम्बर एकको सरकारले पर्यटक प्रहरीको व्यवस्था गर्ने भएको छ ।

पर्यटकीय क्षेत्र र स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षा सम्बन्धी कार्य गर्न प्रदेश सरकारले प्रदेश पर्यटक प्रहरीको व्यवस्था गर्ने भएको हो ।

प्रदेश सरकारको तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा प्रदेश संसदमा प्रस्तुत गरिएको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा पर्यटक प्रहरीको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

साथै प्रदेश सरकारले प्रदेशभित्र खास क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्ने र घोषणा गरिएको क्षेत्रको प्रवद्र्धन, विकास र व्यवस्थापनका लागि समिति गठन गरिने समेत उल्लेख गरिएको छ ।

प्रदेश सरकारले प्रदेशभित्र संचालित होटल, रेष्टुरेन्ट तथा लजहरुको सेवा सुविधा, सरसफाइको आधारमा वर्गिकरण गरी पर्यटक सम्बन्धी वा सामान्य कस्तो प्रकृतिको हो त्यसको स्तर निर्धारण गर्ने भएको छ । पर्यटक स्तरको नभएको होटलहरुले पर्यटक स्तरको भनी संचालन तथा प्रचारप्रसार गरेमा पहिलो पटक २५ हजार, दोश्रो पटक पचास हजार र तेश्रो पटक देखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने विधेयकमा उल्लेख गरिएको छ ।

त्यस्तै विधेयकले पथप्रदर्शकहरुका लागि पनि छुट्टै्र व्यवस्था गरेको छ । पथ प्रदर्शकहरुले प्रदेश सरकारले लिएको परीक्षा पास भएमात्रै पथ प्रदर्शको इजाजत पत्र प्राप्त गर्ने छन् ।

साथै यो ऐन लागु हुनुपुर्व प्रदेशमा सञ्चालित ट्राभल, ट्र्किङ एजेन्सीहरुले ऐन लागु भएको ३ महिना भित्रमा प्रदेश सरकारसंग पनि अनुमति लिनुपर्ने छ । ट्राभल, ट्र्किङ एजेन्सीहरुले पर्यटकबाट लिइने शुल्कको दरको सुचना प्रदेश लाई गराउनुपर्ने समेत विधेयकमा उल्लेख गरिएको छ ।

प्रदेशमा जल यातायातको प्रचुर सम्भावना रहेको भएपनि विधेयकले भने जल यातायात र जलपर्यटनको विषयमा खासै बोलेको छैन ।


क्लिकमान्डु