कर्णाली करिडोरको ३१ किमीमा यातायात सञ्चालन




काठमाडौ । नेपाली सेनाले निर्माण गरेको बाजुरा खण्डमा यातायात सेवा बिहीबारबाट सञ्चालनमा आएपछि जिल्लाका चार स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन ।

कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्ड लैफूदेखि बाजुराको लेब्डीसम्म ३१ किलोमिटर सडक बिहीबारदेखि सञ्चालनमा आएको छ ।

सडक सञ्चालनमा आएसँगै बाजुराका हिमाली गाउँपालिका, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका सडक सञ्जालमा जोडिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । त्यस्तै छिमेकी जिल्ला कालिकोट र मुग जिल्लाका स्थानीयवासीलाई समेत सहज भएको प्रजिअ बरालले बताए । सडक सञ्जाल जोडिएपछि बाजुराको सबैभन्दा दुर्गम हिमाली गाउँपालिकासम्म यातायातको पहुँच पुग्नुका साथै त्यस क्षेत्रका सर्वसाधारणलाई आवातजावतमा सहज भएको छ ।

प्रमुख जिल्ला अधिकारी बरालले भने, “नेपाली सेनाले ट्र्याक खोलेलगत्तै यातायात सञ्चालनमा ल्याइएको हो ।” जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलको आग्रहमा सडक सञ्चालनमा ल्याइएको कर्णाली करिडोरको तिथिचौर क्याम्पका उपसेनानी शङ्कर सिलवाले जानकारी दिए ।

नेपाली सेनाले जिम्मा लिएको कर्णाली करिडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्म १४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्ला जिल्लामा रहेको छ । सेनाले सडक निर्माणको जिम्मा विसं २०७१ चैतमा लिएको थियो । अहिलेसम्म १०७ किलोमिटरमा भइरहेको काममध्ये ७२ किलोमिटरमा यातायात सञ्चालनमा आएको उपसेनानी सिलवाले जानकारी दिए । बाजुरा र हुम्लाको बीचमा रहेको कवाडी नदीमा पुल बनाउने काम भइरहेको र त्यो पुल सम्पन्न हुनेबित्तिकै सडकले हुम्ला छुने सेनाले जनाएको छ । अब यातायातले नछोएको जिल्ला नेपालमा हुम्ला मात्र रहेको छ ।

अहिलेलाई यो सडकमा जिप र मालबाहक ट्रक मात्र सञ्चालनमा ल्याउने जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए । गाउँपालिकाको आग्रहमा सेनाले सञ्चालनका लागि अनुमति दिएको शाहीको भनाइ छ । सडक विभागलाई सेनाले हस्तान्तरण नगर्दै सीमित सवारीसाधन सञ्चालनका लागि सडक सञ्चालनमा ल्याएको सेनाले जनाएको छ । सहजै गाउँमा यातायातका साधन पुगेपछि जटिल खालका उपचार गर्नसमेत सहज भएको स्थानीयवासीको भनाइ छ । रासस


क्लिकमान्डु