राजस्व नउठेपछि तातिए अर्थमन्त्री, राजस्व उठाउन प्रहरी परिचालन हुने



काठमाडौं । लक्ष्य अनुसारको राजस्व संकलन नभएपछि अर्थमन्त्री तातिएका छन् ।

फागुन मसान्तसम्ममा पनि लक्ष्य अनुसारको राजस्व संकलन नभएपछि अर्थमन्त्रालयले राजस्व संकलनलाई प्रभावकारी ढंगले उठाउन कडा बन्ने नीति लिन लागेको हो ।

मुख्य रुपमा आयात बढे अनुसारको मूल्य अभिबृद्धि कर(भ्याट) संकलन भएको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत ४ सम्ममा राजस्व वापत ४ खर्ब १ अर्ब र गैर कर वापत ४४ अर्ब रुपैयाँ उठेको छ ।

अर्थमन्त्री खतिवडाले फागुन मसान्तमा नै लक्ष्य अनुसारको राजस्व संकलन नभएपछि चैत ३ गते आइतबार राजस्व चुहावट नियन्त्रण उस्चस्तरिय समितिको बैठक बोलाएका थिए ।

अर्थमन्त्रालयले राजस्व लक्ष्य अनुसार नउठेपछि ठूला आयातकर्ताको गोदाममा नै गएर अनुगमन गर्ने भएको हो ।

‘सामान आयात भएको छ,सो अनुसारको भ्याट दाखिला भएको छैन,केही गोदाममा नै गएर स्टकको जानकारी लिनुपर्ने देखिएको छ,’अर्थमन्त्रालय स्रोतले भन्यो ।

उच्च स्तरिय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले केन्द्रीय स्तरबाट टोली बनाएर कार्यस्थलमा अनुगमनमा जाने निर्णय गरेको छ ।

राजस्व कार्यालयले अन्य निकायको समन्वयनमा बजार अनुगमनमा निस्कने निर्णय गरेको हो ।

राजस्व चुहावट नियन्त्रणको लागि अर्थमन्त्रीले अर्थसचिव,राजस्व सचिव,प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव,प्रहरी तथा शसस्त्र प्रहरीका महानिरिक्षक,अर्थमन्त्रालय अन्तर्गत भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक तथा प्रधानमन्त्री कार्यालय अन्तर्गत राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशकलाई बैठकमा बोलाएका थिए ।

बैठकले राजस्व संकलनका लागि सीमा क्षेत्र नजिक मालबस्तुको नयाँ भण्डारण गर्न नदिने र पुराना गोदामको अनुगमन गर्ने उल्लेख छ ।

पुस मसान्तसम्ममा ४ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । जसमा कर राजस्वबाट ३ खर्ब ५९ अर्ब र गैर कर राजस्वबाट ४२ अर्ब उठेको थियो ।
शिर्षकगत आधारमा भ्याट र आयकर लक्ष्य अनुसार भएको छैन ।

पुस मसान्तसम्ममा १ खर्ब १७ अर्ब रुपैयाँ भ्याट मार्फत उठेको छ । यो लक्ष्यको ८९ प्रतिशत हो । यस्तै आयकरबाट ८६ अर्ब उठेको छ । यो लक्ष्यको ८३.६ प्रतिशत हो ।


क्लिकमान्डु