बजेट सिलिङमा नै नभएको केरुङ-काठमाडौं रेलमार्ग कसरी बन्ला ?



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट तयारीमा सरकार जुटेको छ । राष्ट्रिय योजना आयोगले हरेक मन्त्रालयलाई बजेटको सिलिङ तोक्दै सोही अनुसारको बजेट प्रस्ताव गर्न निर्देशन दिएको छ ।

तर रमाइलो के छ भने सरकारले सपनाको रुपमा रहेको भन्दै चर्को प्रचार गराएका परियोजनाका लागि बजेट प्रस्ताव गर्ने विषयमा सैद्धान्तिक सहमति समेत दिएको छैन । प्रसंग हो केरुङ–काठमाडौँ रेलमार्ग र रक्सोल–काठमाडौँ रेलमार्गको ।

सरकारले रेल चलाउने विषयलाई हरेक कार्यक्रममा महत्वका साथ प्रचार गदैृ आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त रेलमार्गलाई नै भाषणको समेत प्रमुख विषय बनाउँदै आएका छन् । उनले हरेक जसो कार्यक्रममा समेत रेलमार्गको विषयलाई प्राथमिकतामा राखेका छन् ।

तर भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई दिइएको बजेट सिलिङमा रेलमार्ग अध्ययनको सन्दर्भमा कुनै पनि विषय समेटिएको छैन ।

सोही मन्त्रालयका सचिव मधुसुदन अधिकारीले अन्य आयोजनामा बजेटको सैद्धान्तिक अवधारणा आएपनि रेलमार्ग निर्माणको विषयमा प्रष्ट व्यवस्था नभएको बताएका छन् ।

उनले रेलमार्ग अनिवार्य र आवश्यक विषय भएपनि बजेटको सन्दर्भमा कुनै सैद्धान्तिक विषय नै नसमेटिएका कारण बजेट उपलब्ध हुने वा नहुने बारेमा अहिल्यै केही भन्न नसकिने बताएका छन् ।

सोमबारको अर्थ समितिको बैठकमा उनले केरुङ–काठमाडौँ रेलमार्गका लागि ३५ अर्ब रुपैयाँ बराबरको बजेट लाग्ने जानकारी दिएका थिए । यस्तै रक्सोल काठमाडौँ रेलमार्गका लागि कम्तीमा पनि ७ अर्ब रुपैयाँ आवश्यक पर्ने बताएका थिए । बजेट कुन स्रोतबाट जुटाउने भन्ने बारेमा हालसम्म कुनै निर्णय नभएको सचिव अधिकारीको भनाई छ ।

चिनियाँसहित नेपाली प्राविधिकले उक्त रेलमार्गको प्रार।म्भिक अध्ययन गरेका छन् । यस्तै भारतीय प्राविधिक सहित नेपाली प्राविधिकले रक्सोल– काठमाडौं रेलमार्गको अध्ययन गरिसकेका छन् ।


क्लिकमान्डु