ओरियन्टल पीडितको गुनासोः सरकारले नाङगो नाँच देखाउँदा साढे सातको दशा लाग्यो (भिडियोसहित)



काठमाडौ । ओरियन्टल सहकारीका पीडित निक्षेपकर्ताहरुले सरकारले पीडितहरुको घाउमा मल्हम लगाउनुको साटो उल्टै खेलवाड गरेर थप पिडा दिएको गुनासो गरेका छन् ।

सहकारी पीडित हकहित संरक्षण समितिद्धारा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पीडितहरुले साढे सातको दशाले ग्रस्त भएका पीडितहरुलाई सरकार र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बेवास्था गरी उम्कन खोजेको आरोप लगाएका छन् ।

साढे सात वर्ष लगाएर साढे सात हजार पीडितलाई साँवा ब्याज गरी साढे सात अर्ब जति तिर्ने दायित्व रहेको सुधिर बस्नेतको सम्पत्ति छानविनमा देखिएको ढिलासुस्तीले नै निक्षेपकर्ताहरुलाई साढे सातको दशाले भेटेको बताएका हुन ।

समस्याग्रस्त सहकारी व्यवस्थापन गर्न गठित समितिले सार्वजनिक गरेको सुधिर बस्नेतको सम्पत्ती माथि प्रश्न उठाउँदै पीडितहरुले सम्पत्ती बिवरण लुकाइएको समेत आरोप लगाएका छन् । उक्त कार्यक्रममा एक बक्ताले भने, ‘यसअघि समितिका अध्यक्ष गौरी बहादुर कार्कीको प्रतिबेदनमा देखाइएका सम्पत्ति कहाँ गए ? किन सबै विवरण अहिलेको विवबरणमा आएनन् ? समितिको नियतमा खोट छ, यो समिति समस्या समाधान गर्न भन्दा पनि कसरी छिटो उम्कने भन्ने दाउमा लागेको छ ।’

हामीले निक्षेप गर्दा पाउने ब्याजबाट एक पैसा नछोडि कर लिने सरकार, जनता पीडित हुदाँ जिम्मेवार हुनुपर्छ कि पर्दैन ? पीडितहरुले आक्रोश पोख्दै भने ।
सरकारको यही रबैया जारी रहे समिति गठन गर्न सडक संघर्ष गरेका पीडितहरु यस्तो गैरजिम्मेवार समिती नचाहिने भन्दै पुन सडक आन्दोलनमा आउनुपर्ने बाध्यता हुने समेत बताए ।

यत्रो वर्ष लगाएर समितिले ७५ लाख रुपैयाँ जम्मा गरेको र त्यही दामासहीमा बाँडने कुरा गरेकोमा पीडितहरुले निकै आक्रोश पोखेका छन् । पीडितहरुले कुनै पनि हालतमा आफुहरुलाई साँवा ब्याज चाहिने बताए । उनीहरुले ओरेन्टलको सम्पत्ती भएको र त्यो पुरै सम्पत्ती खोजी खोजी निक्षेपकर्ताका पुरै रकम फिर्ता गर्न समिति अग्रसर हुनुपर्ने राय पेश गरेका छन् ।

पीडितहरुले समितिले सुधिर बस्नेतको सम्पत्ति लिलाम गर्ने भनेको र त्यसको पादर्शिताको आधार नभएको बताएका छन् । साथै पीडितहरुले लिलामी के–कतिमा गर्न खोजीएको हो र पीडितहरुको सम्पुर्ण रकम सुरक्षित हुने नहुने बारे प्रश्न गरेका छन् ।
आम पीडितहरुको निक्षेप अविलम्ब फिर्ता हुने खाका व्यवस्थापन समितिको तर्फबाट तयार गरी पीडितहरुसँग सहकार्य नगरी एकलौटी समिति अगाडि बढे सडक आन्दोलनमा उत्रिने चेतावी समेत पीडितहरुले दिएका छन् ।


क्लिकमान्डु