कांग्रेस नेता मिनेन्द्र रिजालले गरे अर्थमन्त्रीको चर्को आलोचना, भने- विश्वास गुमाउनु भयो
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले अर्थमन्त्री प्रतिको भरोसा गुमेको बताएका छन् ।
चुनावको समयमा निकै चर्का नारा लगाएर आएको सरकारको प्रतिवेदन हेर्दा अर्थमन्त्रीप्रतिको भरोसा गुमाएको बताए ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि उत्पादनमा सुधार, पर्यटक आवगमनमा सुधार, विप्रेषणमा वृद्धि, पुँजीगत खर्चमा वृद्धि गरेर आर्थिक वृद्धिदर लक्ष्यको हाराहारी पुग्छ भने पनि त्यो हुनेमा आशंका रहेको बताए ।
यो वर्ष कृषि उत्पादन राम्रो भएको र धानको उत्पादन नौ प्रतिशतले बढने अनुमान रहेपनि कृषि उत्पादनको आधारमा अर्थतन्त्र उभो लाग्ने हो कि भन्दै प्रश्न गरेका छन् । अघिल्लो वर्षभन्दा कृषिमा सामान्य वृद्धि हुँदैमा अर्थतन्त्र सुधार हुन्छ भन्नु हाँस उठ्ने विषयमात्रै भएको उनको भनाई छ ।
यो अवधिमा उद्योग विस्तार नभएको, पर्यटकको आवगमन गत वर्षको यहि अवधिमा २५ प्रतिशतले बढेको भएपनि अहिले २४.८ प्रतिशतले मात्रै रहेको भन्दै यसमा ध्यान दिन समेत आग्रह गरे ।
विप्रेषण गत आवको सोहि अवधिमा भन्दा ३० प्रतिशतले बढेपनि विप्रेषणमा आधारीत भएर आयात बढेको उनको तर्कछ ।
अघिल्लो पटक १५ प्रतिशतले बढेको आयात यो वर्ष ३१ प्रतिशतले बढेको छ, राजश्व २१ बाट २६ प्रतिशतमा पुगेको, आयत बढेर व्यापार घाटा १५ बाट ३२ प्रतिशतमा पुगेको र शोधनान्तर घाटा ७० अर्बले बढेको तथ्यांक प्रस्तुत गरे ।
‘अर्थमन्त्रीले श्वेतपत्र जारी गर्दा बुँदा ४० मा लेखेको जस्तै विप्रेषणको आय र उपभोगको चक्रब्यूमा फसेको छ भन्नुभएको थियो, अहिले त्यो भन्दा के फरक भयो त ?’ रिजालले प्रश्न गरे ।
डंका बजाएर आएको सरकारले अहिलेसम्म चालु खर्च ३५ र पुँजीगत खर्च १७ .७ प्रतिशत मात्र गरेको भन्दै गत आवको यो अवधिमा १४.३ प्रतिशत खर्च भएको भन्दै अहिले खास ठूलो प्रगति नभएको उनको दाबी छ ।