अर्थमन्त्रीको प्रश्नः ६/७% ब्याजदरमा बैंकबाट ऋण काढेर गाडी कुदाउँला भन्ने सोच्न पाइन्छ र ?



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ऋणको ब्याजदर ६/७ प्रतिशत हुनुपर्छ भन्ने माग स्वभाविक नभएको बताएका छन् ।

व्यवसायीहरुले बैंकको ब्याज बढी भएको भन्दै घटाउन दबाब दिने उद्देश्यले आन्दोलन गरिरहेका बेला अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित बजेटको मध्यावधि समीक्षा कार्यक्रममा बोल्दै खतिवडाले भने- ‘यो मुलुकमा ६/७ प्रतिशत ब्याजदरमा ऋण पाइन्छ । र, बैंकबाट ऋण काढेरै गाडी कुदाउँला भन्ने सोच्न पाइन्छ र ?’

६/७ प्रतिशतमा ऋण पाउनका लागि निक्षेपको ब्याजदर २ प्रतिशत हुने उनले बताए ।

‘बैंकको स्प्रेडलाई हामी अर्को वर्षसम्ममा ४ प्रतिशतमा झारौंला रे । तर, ६ प्रतिशतमा कर्जा दिएपछि निक्षेपको ब्याजदर २ प्रतिशत हुन्छ । अनि महंगी ५ प्रतिशत भयो भने पनि बचत गर्ने अढाइ करोड खाता भएका मान्छे चाहीँ अहिले १०० रुपैयाँ राख्ने बचतकर्ताको क्रयशक्ति घटेर ९८ रुपैयाँतिर आउँछ,’ उनले भने ।

त्यसपछि फेरि मुलुकमा बचतको दर नहुने समस्या आउने उनले बताए ।

‘निक्षेपकर्तालाई कति ब्याज दिने ?’ उनले प्रश्न गरे, ‘यस्ता अस्वभाविक किसिमका कुराहरु अर्थतन्त्रमा हुन दिनु हुँदैन । यसलाई रोक्नुपर्छ ।’

७ प्रतिशतमा पाएको ब्याजदर अहिले १६/१७ प्रतिशत पुग्यो भन्ने मानसिकताबाट आएको कुरालाई हामीले राम्रोसँग बुझ्नुपर्ने उनको भनाई थियो ।

‘ब्याजदरलाई धेरै माथि र धेरै तल जान दिनु हुँदैन,’ उनले प्रष्ट पारे ।

ब्याजदर घटाउन सक्नुभएन, सहजै ऋण पाउन सक्ने अवस्था बनाउन सक्नु भएन नि ? भन्ने पत्रकारको प्रश्नमा खतिवडाले प्रतिप्रश्न गर्दै भने, ‘व्याजदर यति हुनुपर्छ भनेर तपाईंहरुनै तोकिदिनुहोस्, भनिदिनुहोस् । कति सजिलो हुन्थ्यो हामीलाई ।’

तर, व्यवसाय पनि उँभो लाग्नुपर्ने र बैंक पनि निश्चित सामान्य मुनाफामा जानु पर्नेगरी ब्याजदर हुनुपर्ने उनको भनाई थियो ।

‘ब्याजदर अस्वभाविकरुपमा माथि गयो हामीले चासो दियौं । तपाईंहरुले अर्थमन्त्रीले हस्तक्षेप गर्यो भनेर लेख्नुभयो, ब्याजदर असाधारणरुपमा तल गयो, कसैले कहिल्यै पनि चिन्ता व्यक्त गर्नु भएन,’ खतिवडाले भने, ‘बैंकले ७ प्रतिशत ब्याजदरमा लगानी गरेका बेला चिन्ता गर्ने म मात्रै थिएँ, तर, तपाईंहरुले लेखेको मैले पाइँन, सायद मैले समाचारहरु पढिँन होला, दुईवटै कुरा लेखिदिनुपर्छ तपाईंहरुले ।’

ब्याजदरलाई बाञ्छित सीमाभित्र राख्नका लागि ब्यावसायिक स्वतन्त्रता पनि चाहियो । बजारका सिद्दान्तको पनि पालना गर्नुपर्ने उनको भनाई छ ।

‘सडकको पहेँलो लाइन छोडेर नालाको छेउतिर जाँदाखेरी तपाई नालीतिर खस्न लाग्नुभयो है भन्न पनि नपाउने त होइन होला नि,’ उनले भने, ‘ हामीले नालीतिर खस्न लागेको बैैंकिङ प्रणालीलाई बीचतिर आउनुहोस् भनेर म आफैंले सुझाव दिएको हुँ, बाँकी उहाँहरुकै हातमा छ ।
ब्याजदर क्रमश सुधार हुँदै जाँदैछ भन्ने त अर्को महिनाको तथ्यांकमा देखिइहाल्ने उनको भनाई थियो ।

‘आज राष्ट्र बैंकले ब्याजरको विषयमा चासो नदेखाएको भए निक्षेपको औषत ब्याजदर नै १२ प्रतिशत पुग्थ्यो, अहिले १० प्रतिशतभन्दा कम छ,’ उनले भने ।

यस विषयलाई अर्को पाटोबाट हेरिदिन अर्थमन्त्रीले आग्रह गरे । ‘भन्नलाई पो सजिलो छ त,’ उनले भने ।

एकातिर आर्थिक क्रियाकलाप बिग्रियो, सुस्तछन् भन्ने गरिएको तर अर्कातिर कर्जाको माग पनि बढेको भन्दै उनले प्रश्न गरे, ‘कहाँबाट कर्जाको माग बढेको छ ?’

हामीलाई ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धिदर पनि चाहिएको, औद्योगिक वस्तुको आयात पनि गर्नुपर्ने, अनि फरि बैंकको कर्जा पनि सस्तो हुनुपर्छ सबै चाहिएको उनले बाए ।

‘यी सबैको बीचमा कहिँ न कहीँ कम्प्रमाइज त गर्नैपर्छ, तथ्यांकहरु कम्प्रमाइज नगरी हुँदैन,’ उनले भने, ‘त्यसैले अलिकति बढी यो अर्थमन्त्रीले असंभव कुरालाई पनि संभव बनाउँछ भन्ने अपेक्षा छ होला, त्यो चाहीँ होइन ।’

मुलुक खुल्ला अर्थतन्त्रमा रहेको भन्दै खुल्ला अर्थन्त्रमा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताए ।

‘खुल्ला अर्थतन्त्रमा सरकारले एकैपटक ब्याजदर, बिनिमय दर र मुद्रास्फिति दरमा हस्तक्षेप गरी नियन्त्रण गर्न सक्दैन, यी ३ वटामध्ये २ वटा हामीले नियन्त्रण गर्न सक्छौं तर एउटा बजारलाई छाड्नै पर्छ, यो बजार अर्थशास्त्रको सिद्दान्त हो,’ उनले भने, ‘म पनि त्यही सिद्दान्त गर्नुपर्छ भन्ने मान्यता राख्छु । ३ वटै ठाउँमा हस्तक्षेप गर्यो भने बजार अर्थतन्त्र रहँदैन ।’


पुष्प दुलाल