नेपालमा कर नतिरेर भागेको टेलियालाई अर्बपति बिनोद चौधरीले नेपाल भित्र्याउने



काठमाडौं । गत मंगलबार व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले टर्कीको टर्कसेलसँग सम्झौता भएको फोटो सार्वजनिक गरे ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले टर्कसेलका अधिकारीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । स्पेनको बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेसमा चौधरीले टर्कसेलसँग साझेदारीले सिजी लाइफ कम्पनी खोलेर नेपालको डिजिटल प्रविधि मार्फत दुरसंचार सेवा पुर्याउने बताइएको छ ।

सिजी र टर्कसेलबीच सम्झौता हुँदा दूरसंचारको सम्बन्धित मन्त्रालय सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटा र दुरसंचार प्राधिकरणको कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनाल समेत उपस्थित छन् ।

टर्कीको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी टर्कसेलमा स्वीडेनको टेलियासोनेराको लगानी रहेको छ ।

टेलियासोनेरा त्यही कम्पनी हो जसले नेपालमा एनसेल मलेसियाको एक्जियटालाई बिक्री गर्दा पैसा नतिरी मागेको थियो । लामो समयको विवादपछि सर्बोच्च अदालतले एनसेल खरिदबिक्रीमा बिक्रीकर्ता एक्जियटा र एनसेलले नै लाभकर तिर्नुपर्ने फैसला गरेको छ । सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा सहितको पूर्ण इजलाशले गरेको फैसलाको पूर्ण पाठ भने आएको छैन ।

टेलियाले सन् २०१८ मा जारी गरेको स्वेतपत्रमा टर्कसेलमा उसको २४ प्रतिशत स्वामित्व भएको देखिन्छ । टर्कसेलमा टेलियाले सिधै लगानी नगरेर अर्को कम्पनी खडा गरेर लगानी गरेको छ ।

अहिले चौधरी ग्रुपसँग ग्रामिण क्षेत्रमा टेलिकम सेवा दिने कम्पनीको लाइसेन्स छ । पूर्वाञ्चलका १६ जिल्लामा मोबाइल सेवा पुर्याउने लाइसेन्स भएपछि यसको सेवा प्रदायकको सेवा भने निकै नै कम छ ।

दुरसंचार प्राधिकरणले सिजीलाई मोबाइल सेवा प्रदायक कम्पनीको लाइसेन्स दिन मानेको थिएन । यसलाई अक्सनमा लैजाने निर्णय विरुद्ध सिजी सर्बोच्च अदालतमा गएको थियो ।

सर्बोच्च अदालतले सुरुमा सिजीको पक्षको अन्तरिम आदेश दिएपनि प्राधिकरणले भ्याकेट दर्ता गरेपछि सर्बोच्च प्रधानन्यायधीश राणाले सिजीको पक्षमा दिएको अन्तरिम आदेश खारेज गरेका थिए ।


क्लिकमान्डु