राजाकै शासनमा पारसलाई कारबाहीको माग गर्दै दरबारमा ५ लाखको हस्ताक्षर बुझाउने ती रविन्द्र



काठमाडौ । हेलिकप्टर दुर्घटनामा परेर संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीको बुधबार निधन भएको छ ।

प्रधानमनन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पाँच वर्षका लागि स्थायी सरकारको मन्त्री बनेका अधिकारीको डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर दुर्घटनामा परेर ताप्लेजुङमा निधन भएको छ ।

२०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको तत्कालीन भरतपोखरी गाविस जामुनाबोटमा इन्द्र प्रसाद र लक्ष्मी अधिकारीको कोखबाट जेठो छोराको रुपमा जन्मिएका अधिकारीले गाऊँकै श्री ब्रह्म ज्योति प्रा.वि. शान्ति पंधेरा गैरागाऊबाट प्राथमिक शिक्षा हाँसिल गरेका थिए ।

शान्ति उदय मा.वि. (हालको उच्च मा.वि.) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हासिल गरेका थिए । बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक बिद्यालयका शिक्षक थिए ।

सानै उमेरदेखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी विद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न थिए ।

विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन, लगाएतका मध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा विद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित विद्यार्थी थिए ।

उनले हजारौं दर्शकको बिचमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम विद्यालय जीबनमै प्रदर्शन गरेका थिए । त्यो समयमा उनले विद्यालयमा मात्र होइन त्यस क्षेत्रमै अनेरास्वबियुको नेतृत्व पनि गरे ।

बिद्यार्थी राजनीति र उच्च शिक्षा

प्रवेशिका उतीर्ण गर्ने बित्तिकै वन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएको भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरे ।

विद्यालयदेखि नै राजनीतिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि विद्यार्थी राजनीतिक गतिबिधिमा सक्रिय मात्र रहेनन्, उनले २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष भए ।

त्यसैगरी, २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापति निर्वाचित भए ।

२०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बनेका अधिकारी २०५३ सालमा स्ववियु काउन्सिल नेपालका संयोजकमा निर्वाचीत भए ।

त्रि.बि. बाट व्यबस्थापनमा स्नातकोत्तर गरेका उनले संबिधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गरेका छन् । बिगत दुई दशकदेखि उनका सयौं अनुसन्धान र राजनीतिक लेखहरु छापिएका छन् । २०४५ मा एक बर्ष माध्यमिक विद्यालयमा अध्यापन गरेका अधिकारी केही समय अघिसम्म विभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्ने गर्दथे ।

एशियाली विद्यार्थी संगठन, विश्व प्रजातान्त्रिक युवा संघ लगाएत अन्तराष्ट्रिय युवा विद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गरेका अधिकारी विभिन्न अन्तराष्ट्रिय सम्मलेनमा भाग लिएका छन् ।

विद्यार्थी आन्दोलन र जेल

पञ्चायतकालमा विद्यार्थी आन्दोलन स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील थियो । पञ्चायती निरंकुशतालाई समाप्त पार्ने आन्दोलनको अभिष्ट थियो । शैक्षिक मुद्दा र माग पनि ब्यवस्थासँग नै जोडिएका हुन्थे ।

आजको आश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागी पञ्चाएतको अन्त्य भन्ने नाराका साथ ०४६को जनआन्दोलनमा क्रियाशील रबिन्द्र पञ्चायतकालमा पटक–पटक गरी छ महीना जेल र हिरासतमा बिताए ।

०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उनी क्याम्पस, जिल्ला र सयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गरेका थिए । ०४६ को परिवर्तन पछि विद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गरे ।

कलेज भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माण, शैक्षिक बाताबरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधार,क्याम्पसमा बिद्यार्थीको पोशाक आदि कुराहरुमा ठुलो सुधार र परिबर्तन भयो ।

त्रि.बि का स्ववियु सभापति हुँदा पुस्तकालय, शैक्षिक बाताबरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ट प्राध्यापक हरुको सम्मान जस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाएका अधिकारीले विश्वविद्यालयमा निरन्तर प्राज्ञिक बहस सञ्चालन गर्थे ।

अर्थशास्त्र विभागका प्राध्यापक टि.पि चौधरीलाई बरिष्ट प्राध्यापकको उपाधि उनकै पहलमा सम्भब भएको थियो ।

शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैकालाई गुणस्तरिय शिक्षा, जस्ता आन्दोलन र राष्ट्रीयताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू –भाग डूबाउने लक्ष्मणपुर बाँधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैन जेलखानमा हो भन्दै पाँच लाख २३ हÞजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगाएत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण विद्यार्थी आन्दोलनमा उनको नाम नमेटीने गरी लेखिएको छ ।

नेकपा एमाले–पार्टी राजनीतिमा

२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित भए । २०४० मा इलाका पार्टी कमिटीमा,२०४६ र ४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहे ।

२०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव र ०६३ मा पनी पुनः सचिवमा निर्वाचित भए । ०६२-६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्दको आन्दोलनमा पटक–पटक गरी पाँच महिना जेल बसे । पार्टीको राष्ट्रीय परिषद् सदस्य, अञ्चल कमिटी सदस्य भएर काम गरी सक्नु भएका अधिकारी हाल पार्टीको राष्ट्रीय प्रतिनिधि परिषद्को सदस्य, केन्द्रीय पार्टी स्कुल विभाग र संसदीय विभागको सदस्य छन् ।

संसद र संविधान सभा

२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएपछि संसदमा खेलेको भूमिका निकै अबिस्मरणीय रह्यो । सार्बजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्योंसी,सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, मेसिन रिडएबल पासर्पोर्ट आदि बिषयमा बिभिन्न उप-समितिमा रहेर त्यसको नेतृत्व गरी काम गरेका थिए । संविधानसभामा राष्ट्रीय हितको संरक्षण समिति र युवाहरुको दबाब समिति निर्माण गरी संविधान सभा निर्माणमा निरन्तर खबरदारी गरेका थिए । संविधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रिय सीमाका बिषयमा उपसमितिको नेतृत्व गरेका थिए ।

२०७० को चुनाब पछी संसदको बिकास समितिमा सभापति बने । संसद्को विकास समितिमा रहदा नेपालमा बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल रहेका थिए । भने २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । लगातार तेश्रो पटक निर्वाचित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री थिए ।

राजनीति र विकास

राजनीति र विकास एक अर्काका अन्तर सम्बधित हुन भन्ने ठान्ने रबिन्द्र अधिकारी संविधानसभा र संसदमा रहदा कास्की जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत ताल तलैयाको संरक्षण, सरसफाई,पोखरा फराकिलो बनाउने, पुलहरू निर्माण गर्ने, पोखरा विश्वविद्यालय ,पृथ्वीनारायण क्याम्पस लगायत बिभिन्न विद्यालयहरुको निर्माण, पोखराको खानेपानी, क्लबहरु, खेलकूदको क्षेत्रमा पनि उलेख्य भूमिका खेलेका छन् ।

पोखरालाई विश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट बोकेका अधिकारी पोखरामा अन्तराष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाण्डौं पोखरा लुम्बिनी फाष्ट ट्र्याक, काठमाडौं पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पुर्बाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेल्नु भयो । विकासका लागी राजनीति भन्ने मान्यता अनुसार कास्की जिल्ला मात्र हैन मुलुककै आर्थिक विकासको दृष्टिकोण दिँदै आएका अधिकारी एक जना बिकासप्रेमी राजनेता थिए ।

पछील्लो समय व्यवस्थिका संसदको विकास समितिको सभापति भएपछि उनलाई नेपालको विकासमा केही हस्तक्षेप गर्न, केही परिवर्तन ल्याउन सकिन्छ कि भन्ने लागेर विकासका कार्यमा झनै सक्रियताका साथ उनी लागी परेका थिए ।

उनी पछिल्लो सयम मेलम्ची खानेपानी आयोजना, कर्णाली करिडोर, बागमती करिडोर, कालिगण्डकी करिडोर, नेपाल–चीन जोड्ने नाकाहरु, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ–काठमाडौं फास्टट्रयाक, नीजगढ अन्तराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल लगाएतका आयोजनाको अनुगमन तथा निरक्षण र उक्त आयोजनाहरु कार्यान्वयनका लागि क्रियाशिल थिए ।


पुष्प दुलाल