चन्द्र ढकालले ११ अर्ब लागतमा ५३ मेगावाटको हाइड्रो पावर बनाउँदै



काठमाडौं । व्यवसायी चन्द्र ढकालले हाइड्रोपावरमा लगानी गर्ने भएका छन् । सेवा क्षेत्रको व्यवसायमा स्थापित ढकाल अध्यक्ष रहेको आइएमइ समूहले हाइड्रोपावरमा ११ अर्ब लगानी गर्ने भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले म्याग्दीको एक जलविद्युत् आयोजनामा १० अर्ब ९५ करोड १३ लाख १० हजार रुपैयाँ लगानी गर्ने भएका हुन् ।

हाइड्रो सपोर्ट प्रालिको नाममा आइएमई समूहले जलविद्युतमा लगानी गर्दैछ । बैंक, बीमा, रेमिट्यान्स, केवलकारजस्ता सेवा व्यवसायमा लोकप्रिय भएको आइएमइ समूहले यसअघि लमजुङमा समेत जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं २ मा सो आयोजना निर्माण हुनेछ ।

ढकालको कम्पनीले गत पुस ८ गते उक्त कम्पनी दर्ता गरेको हो । कूल ५३.५३ मेगावाट क्षमताको सो आयोजना शतप्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको आयोजना हो ।

सो आयोजनाबाट ५१ जनाले रोजगारी पाउने कम्पनीले विश्वास लिएको छ ।


पुष्प दुलाल