भारतीय कुबेर ग्रुपले ६२ करोडमा किन्यो सौर्य एयरलाइन्स



काठमाडौं । विमानस्थलको बक्यौता र बैंकको ऋण तिर्न नसकेर वित्तीय संकटमा परेको सौर्य एयरलाइन्स बिक्री भएको छ । भारतीय कुबेर ग्रुप अन्तगर्ततको क्लब वान कम्पनीले सौर्य एयरलाइन्स ६२ करोड रुपैयाँमा किनेको हो ।

‘दुई दिनअघि मात्रै हामीले कुबेर ग्रुपलाई ६२ करोड रुपैयाँमा बिक्री गर्ने सम्झौता गरिसकेका छौं,’ सौर्य एयरलाइन्सका सञ्चालक दिपक पोखरेलले क्लिकमाण्डूसँग भने, ‘यद्यपि अहिलेसम्म हाम्रो खातामा रकम भने जम्मा भइसकेको छैन । केही दिनमै आउँछ ।’

सौर्य एयरलाइन्सको शतप्रतिशत स्वामित्व भारतीय कुबेर ग्रुपले किनको हो । तर, कुबेर ग्रुपसँग आवद्ध रहेका नेपाली माडवालरीलाई ५१ प्रतिशत सेयर दिएर आफूले भने ४९ प्रतिशत मात्रै सेयर राख्ने छ ।

बैंकको ऋण र विमानस्थलको बक्यौता तिर्न नसकेको सौर्य एयर बिक्रीमा, भारतीयले किन्ने

‘हामी ५१ र भारतीय कुबेर ग्रुपको ४९ प्रतिशत सेयर स्वामित्व रहनेछ,’ सौर्य एयर किनेका नेपाली माडवारीले भने ।

बैंकको ऋणको सावाँ र ब्याज, विमास्थलको सेवा शुल्क र कर्मचारीको तलबसहित सौर्यले करिब ७५ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व छ । सौर्य एयरका लगानीकर्ताहरुले यो रकम भुक्तानी गर्न सकेका थिएनन् ।

सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थललाई ४ करोड रुपैयाँ सेवा शुल्क नतिरि दुई महिनाअघि उडान बन्द गरेको थियो ।

त्यसैगरी, १८ करोड रुपैयाँ सावाँ र त्यसको ब्याज भुक्तानी गर्न नसकेपछि गत पुस २७ गते जनता बैंकले ऋणीलाई ऋणा चुक्ता गर्न आउनका लागि ३५ दिने सूचना निकालेको थियो । फागुन २ गते ३५ दिने सूचनाको समयावधि सकिएको छ ।

दीपक खरेलसहित १५ जनाको नामसहित बैंकले सूचना जारी गरेको थियो ।

तर नयाँ लगानीकर्ता कुबेर ग्रुप र नेपाली माडवारी सौर्य एयरलाइन्सको दायित्व भुक्तानी गर्ने भन्दै लिलामी प्रक्रिया अघि नबढाउन आग्रह गर्दै बैंकमा पुगेपछि बैंकले लिलामी प्रक्रिया रोकेको छ ।

‘हामीले धितो लिलामीको प्रक्रिया अघि बढाएका थियौं तर नयाँ लगानीकर्ताको समूहले २÷४ दिन लिलामीको सूचना ननिकाल्न आग्रह गरेपछि हामी रोकिएका हौं,’ जनता बैंक स्रोतले भन्यो ।

जनता बैंकको मात्रै होइन, सौर्य एयरले नेपाल इन्भेष्टमेन्ट बैंकबाट लिएको ३५ करोड ऋण र त्यसको ब्याज पनि तिर्न सकेको छैन ।
त्यसैगरी, ३ करोड रुपैयाँ कर र कर्मचारीको तलब भुक्तानी पनि गर्न सकेको छैन ।

‘हामीले घाटा खाएरै भएपनि बिक्री गर्यौं,’ उनले भने ।


क्लिकमान्डु