लगानी खोज्न अर्थमन्त्री खतिवडा बेलायत भ्रमणमा निस्किए



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा लगानी खोज्न संयुक्त अधिराज्यको राजधानी लण्डन प्रस्थान गरेका छन् ।

आगामी २९ देखि ३० मार्चमा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि नेपाल विकास सम्मेलनमा सहभागी हुन मन्त्री डा. खतिवडा त्यसतर्फ प्रस्थान गरेका हुन ।

सयुक्त अधिराज्यका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न, समन्वय गर्न र आगामी २९ देखि ३० मार्च, २०१९ सम्म नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनलाई समेत सहयोग पुर्याउने उद्देश्यले यही फेब्रअरी २२ मा वेलायत स्थित नेपाली राजदुतावासद्वारा आयोजना हुने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा सहभागी हुन गएका हुन् ।

भ्रमणको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले गैर आवासीय नेपाली संघ, वेलायत र नेपाल वेलायत चेम्वर अफ कमर्शको कार्यक्रममा सहभागी जनाउने कार्यक्रम रहेको छ ।

राजदूतावासमा आयोजना हुने नेपाल विकास सम्मेलनमा संयुक्त अधिराज्य सरकारको अन्तराष्ट्रिय सहयोग विभाग र काठमाडौंस्थित वाट टु वाच संस्थाको समेत सहकार्य रहने र सम्मेलनमा वेलायती संसदका तीन जना सांसदहरु उपस्थित हुने बताइएको छ । संयुक्त अधिराज्य सरकारका डिपार्टमेन्ट अफ इन्टरनेशनल टे«डका उप–निर्देशक एनन्डी एमसी काउब्री समेत वक्ताको रुपमा उपस्थित हुने कार्यक्रम रहेको छ ।

भ्रमणबाट नेपाल र संयुक्त अधिराज्य बीचको पारस्परिक हित अभिवृद्दिमा सघाउ पुग्ने अपेक्षा गरीएको छ । भ्रमणमा अर्थ मन्त्रीका साथै मन्त्रालय र लगानी बोर्डबाट एक–एक जना प्रतिनिधि सहभागी भएका छन् ।


क्लिकमान्डु