अर्थ समितिमा सांसद झाँक्रीले भनिन्- बैंकलाई ब्रोकर लाइसेन्स दिनुअघि गंभीररुपले सोच्नुपर्छ



काठमाडौं । सांसद रामकुमारी झाँक्रीले बैंकलाई ब्रोकर लाईसेन्स दिने विषयमा सोच्न आवश्यक रहेको बताइन् ।

‘बैंकहरु पनि नाफा कमाउने भएकोले बैंकलाई ब्रोकर लाईसेन्स दिँदा २८ वटा बैंकका सहायक कम्पनी चक्रपथभित्र मात्रै हुन्छ,’ मंगलबारको अर्थ समितिको बैठकमा झाँक्रीले भनिन्, ‘स्थानीय तहमा जाने संभावना नभएकाले बैंकलाई ब्रोकर लाइसेन्स दिनुपूर्व गंभीररुपमा सोच्नुपर्छ ।’

पुँजी बजार घटनुमा लगानीकर्ताको मनोवैज्ञानिक समस्या भएको उनको भनाई छ ।

‘यो सरकार बन्नुपूर्व नै कम्यूनिष्ट सरकार बन्दैछ, र सरकार बनेपछि बजार घट्छ भन्ने मानसिकता बोकेको र त्यसको मनोवैज्ञानिक असर अहिलेसम्म पनि रहेको छ,’ झाँक्रीले भनिन् ।

उनले लगानीकर्तालाई सरकारप्रति नकारात्मक मानसिकता नराख्न आग्रह गरिन् ।

अहिले प्यानको विषयमा धेरै चर्चा भएको भन्दै यो तत्काल लागु गर्दा समस्या लागु हुने भए कति समय पर्खनु पर्ने हो त्यसका लागि सरकारलाई आग्रह गर्ने जानकारी दिइन् ।

उनले बजारमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको र बजारलाई लगाम लगाउने पक्षमा सरकार नरहेको समेत धारणा राखिन् ।

‘अहिले जुन पार्टीको सरकार छ, म त्यही पार्टीको भएकाले म यति भन्न सक्छु कि, सरकारले सेयर बजारलाई लगाम लगाउँदैन, लगानीकर्ताहरु किन आँत्तिनु भएको ?’ उनले भनिन् ।

बजारको नेचर नै कहिले बढने कहिले घटने भन्दै अहिले नै आत्तिहाल्नु नपर्ने उनको भनाई छ ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले स्वेतपत्र ल्याएसँगै एकथरी सरकार असफल बनाउन लागेकोले त्यसको असर अहिलेसम्म पनि देखिएको उनको भनाई छ ।

सरकारको विरुद्धमा तीर चलाएर बजार घटाएर केही नहुने भन्दै कानूनमा कुनै सुधार आवश्यक भए, सुधार गरेर जान सबै तयार रहेको उनको प्रतिकृया छ ।

अहिलेको बजार लगानीकर्ताले घटाएको भन्दै आगामी दिनमा बजारलाई कस्तो बनाउने भन्ने लगानीकर्ताको हातमा रहेको उनको दाबी छ ।

सांसद झाँक्रीले लगानीकर्ता र अन्य निकायमा अहिले समन्वयको अभाव भएकाले एकले अर्कोलाई निषेध गर्ने भन्दा पनि समन्वय गरेर अघि बढ्न सुझाव दिइन् ।

उनले पछिल्लो समयमा लगानीकर्ताहरुले सेयर बजारमा गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई भित्र्याउने माग राखेको भन्दै उनीहरुले लगानी गर्नेमा आशंका व्यक्त गरिन् ।

‘म अहिले पार्टीका तर्फबाट एनआरएनए हेरी रहेकी छु, कुरा बुझ्दा उनीहरु आउने सम्भावना यसै भन्न सकिने अवस्था छैन,’ उनले प्रष्ट पारिन् ।

बैठकमा राजश्व सचिव लालशंकर घिमीरेले पुँजी बजार आर्थिक स्रोत जुटाउने माध्यम भएको बताए । छरिएर रहेको पुँजीलाई संकलन गर्ने माध्यम पुँजी बजार भएको भन्दै यसलाई व्यवस्थीत गर्न सरकार लागि पर्ने बताए ।

छरिएर रहेको पुँजी जुटाउने माध्यम सेयर बजार भएको भन्दै सरकार पनि यो बजारप्रति सचेत रहेको धारणा राखे । उनले पुँजीगत लाभकरको विषयमा भएको अध्ययन अन्तिम चरणमा पुगेको बताए ।


पुष्प दुलाल