मौद्रिक नीतिको मध्यावधि समीक्षाः सेयर लगानीकर्ता निराश
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार गरेको मौद्रिक नीतिको मध्यावधी समिक्षा सेयर लगानीकर्ताहरुलाई निरास बनाएको छ । निरन्तर ओरालो लागेको सेयर बजारलाई सम्बोधन हुने केही विषय मौद्रिक नीतिको मध्यावधी समिक्षामा पर्ने अपेक्षामा लगानीकर्ताहरु रहेका थिए ।
तर, मौद्रिक नीतिको समिक्षामा कुनै विषय नपर्दा लगानीकर्ता निराश भएका हुन् ।
बजार निरन्तर घटिरहेको बेला नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलाई स्टक डिलरको रुपमा बजारमा भित्र्याउने पहल सुरु हुने, बैंकको ब्याजदर घट्ने अपेक्षामा लगानीकर्ता रहेका थिए ।
तर पनि अपेक्षा अनुसार केही नआएको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।
पुँजी बजारको सुधारका लागि राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले ५८ बुँदे प्रतिवेदन ल्याए पनि त्यसमा भएको तत्कालीन गर्ने कामसम्म हुन सकेको लगानीकर्ताहरुको गुनासो छ ।
‘बैंकलाई ब्रोकरको लाईसेन्स दिने विषयले पनि पूर्णता पाउन सकेको छैन’ पोखरेलले भनिन्, ‘ब्रोकरलाई जिल्लामा पठाउने भनिएको छ, त्यो पनि भने जस्तो सहज छैन ।’
यस अघि राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाका लागि भन्दै सुझाव संलकन गरेको थियो । सुझव संकलनका क्रममा बैंक ब्याजदर घटाई स्थायित्व कायम गर्नुपर्ने लगानीकर्ताहरुको सुझाव थियो ।
यता सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले सेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट बढाएर ८० प्रतिशतसम्म ऋण दिने व्यवस्था मिलाउन सुझाव दिएका थिए ।
उनले सेयर बजारमा बैंकहरुले प्राथमिक पुँजीको ४० प्रतिशत लगानी गर्न पाउने व्यवस्थालाई बढाएर १०० प्रतिशत नै पुर्याउन राष्ट्र बैंकलाई सुझाव दिएका थिए । तर त्यो सुझाव पनि मध्यावधी समिक्षामा समेटिन सकेको छैन ।