आजदेखि खुल्यो शिवम् सिमेन्टको आईपीओ



काठमाडौं । शिवम् सिमेन्टले सोमबार (आज) देखि साधारण सेयर (आइपीओ) खुला गरेको छ ।

सोमबारदेखि खुलेको सेयरमा सर्वसाधारणले प्रति कित्ता तीन सय र उद्योग प्रभावित स्थानीयले प्रति कित्ता दुई सय रुपैयाँमा फागुन ९ गतेसम्म आवेदिन सक्नेछन् ।

सर्वसाधारणले एक सय रुपैयाँ अंकित मूल्यमा दुई सय रुपैयाँ प्रिमियमसहित प्रति कित्ता तीन सय रुपैयाँका दरले ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै आयोजना प्रभावित स्थानीयले प्रिमियम प्रतिकित्ता दुई सय रुपैयाँमा सेयरमा आवेनद दिन सक्नेछन् ।

फागुन ९ गतेसम्म आवेदन दिन सकिने भएपनि त्यो अवधिसम्म सबै सेयर नबिकेमा चैत ५ गतेसम्म आवेदन दिन पाइने छ । यो अवधिमा संस्थागत लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

यसअघि स्थानीयलाई तीन सय रुपैयाँको दरमा आठ लाख ८० हजार कित्ता सेयर जारी भएपनि दुई लाख २४० कित्तामा मात्र आवेदन परेको थियो । त्यो समयमा बाँडफाँटमा परेका स्थानीयलाई अहिलेको मूल्य दुई सय रुपैयाँमा एक लाख १२० कित्ता सेयर थप दिने भएको छ । बाँकी रहेको पाँच लाख ७९ हजार ६४० कित्ता सेयरमा स्थानीयले आवेदन दिन चाहेमा प्रकिकित्ता दुई सय रुपैयाँका दरले पुनः आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले न्यूनतम ५० देखि ४१ लाख २० हजार कित्ता र स्थानीयले पनि न्यूनतम ५० देखि पाँच लाख ७९ हजार ६४० कित्तामा आवेदन दिन सक्नेछन् । सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु