उद्योगीसँग रिसाए प्रधानमन्त्री, भने- तपाईहरुले मलाई धोका दिनुभयो



काठमाडौं । शनिबार प्रधानमन्त्री निवास बालुवाटार । विषय थियो बढ्दो ब्याजदरको विषयमा उद्योगी व्यापारीले प्रधानमन्त्रीलाई समस्या समाधानको लागि आग्रह गर्ने ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसहित मोरङ व्यापार संघ र उद्योग संघका पदाधिकारी थिए ।

प्रधानमन्त्रीले ब्याजदर समस्या समाधानको लागि बैठकमा उपस्थित अर्थमन्त्री डा युवराज खतिवडा र गभर्नर डा चिरन्जिवी नेपाललाई आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुको चर्को ब्याजदरका कारण उद्योगीहरुलाई समस्या परेको भन्ने उद्योगीको मागमा निकै चिन्ता प्रकट गरे । प्रधानमन्त्री ओलीले उत्पादनमूल, रोजगारमूलक र कृषिजन्य उद्योगको ब्याजदर सस्तो हुनुपर्नेमा जोड दिए ।

तर, प्रधानमन्त्रीले छलफलको बीचमा चिनीको विषय निकाले । अनि रिसाए उद्योगी/व्यवसायीसँग ।

बैठकमा सहभागी एक व्यवसायीका अनुसार चिनी उद्योगीको भनाई मानेर चिनी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको तर चिनी उद्योगीले आपूmलाई धोका दिएको भन्दै प्रधानमन्त्रीदे आक्रोश ब्यक्त गरे ।

‘मैले चिनी उद्योगीको कुरा मानेर उद्योग बचाउनको लागि चिनी आयातमा नै प्रतिबन्ध लगाउने निर्णय सरकारबाट गरेँ,’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर खोल्छाले प्रधानमन्त्रीको भनाई उदृत गर्दै क्लिकमाण्डूसँग भने, ‘तर, उद्योगीले किसानको पैसा नदिने र बजारमा चिनीको मूल्य बढाउने र अभाव सिर्जना गर्ने काम गरेर मलाई धोका दिए ।’

प्रधानमन्त्रीले व्यवसायीले राम्रो काम गर्नुपर्ने र राम्रो काम गर्नेसँग सरकार सधै साथमा हुने बताए ।

‘तपाईंहरु राम्रो काम गर्नुहोस् सरकार सँधै तपाईंहरुको साथमा छ,’ ओलीले भने, ‘तर, सरकारलाई धोका दिने कामचाहीँ नगर्नुहोस् ।’


क्लिकमान्डु