अनुत्पादकको आयातको चिन्ता बढी, ६ महिनामा भित्रियो १७ अर्बको चामल ८ अर्बको तरकारी



काठमाडौं । सरकारले अनुत्पादक वस्तुको आयात बढी भएको भन्दै त्यसलाई नियन्त्रण गर्ने बताएको छ । तर,तथ्यांकले अत्यावश्यक खाद्यान्यको आयात भने बढ्दै गएको देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनाको अवधिमा छिमेकी मुलुक भारतबाट आयात गरिने चामल , तरकारी र फलफुलको आयातमा वृद्धि भएको छ ।

६ महिनाको अवधीमा नेपालले भारतबाट १६ अर्ब ९९ करोड रुपैयाँ बराबरको चामल आयात गरेको छ । अघिल्लो वर्ष १३ अर्ब ६९ करोडको चामल आयात भएको थियो ।

यस्तै ६ महिनामा ८ अर्ब २२ करोडको तरकारी आयात भएको छ । अघिल्लो वर्ष ६ महिनामा ५ अर्ब ९४ करोड रुपैयाँको तरकारी आयात भएको थियो । फलफूल भने ६ महिनामा ४ अर्ब ६७ करोडको आयात भएको छ । अघिल्लो वर्ष २ अर्ब ९० करोड रुपैयाँको फलफुल आयात भएको थियो ।

यस आवको ६ महिनामा भारतबाट मात्र कुल आयात ४ खर्ब ६६ अर्ब ३९ करोड रहेको छ भने गत आवको सोहि अवधिमा ३ खर्ब ६२ अर्ब ४६ करोड रहेको छ ।

यस्तै नेपालबाट भारतमा हुने निर्यात रकम भने भारतसँगको आयातको तूलनामा न्यून देखिन्छ । नेपालबाट यस आवको ६ महिनाको अवधिमा निर्यात २७ अर्ब ५३ करोड रहेको छ भने गत आवको सोहि समयमा २३ अर्ब २६ करोड रहेको छ ।


क्लिकमान्डु