कोषका सदस्यको भत्ता १ हजार कटौती, अध्यक्षले १७५ लिटर मात्रै इन्धन पाउने



काठमाडौं । नागरिक लगानी कोषले कार्य संचालनमा मितव्ययीता अभियान शुरु गरेको छ । यसका लागि कोषले हाल रहेका विभिन्न समिति-उपसमितिका संख्याहरु घटाउनुको साथै भत्ता रकम समेत कटौती गरेको छ ।

यस अघि संचालक समितिका सदस्य संयोजक-सदस्य रहेका प्रत्येक समिति-उपसमितिहरुमा सबै सदस्यलाई संचालक सरह भत्ता दिने गरेकोमा कोषका कर्मचारी सदस्यहरुको भत्ता प्रति व्यक्ति १ हजार रुपैयाँ कटौती गरिएको छ ।

त्यसैगरी गैर कार्यकारी संचालक तथा कोष बाहिरबाट प्रतिनिधित्व गर्ने व्यक्ति सदस्य नरहेका समिति-उपसमितिहरुको बैठक भत्ता नरहने व्यवस्था गरेको छ ।

यो सँगै कोषले खर्चमा मितव्ययीता ल्याउन कोष संचालक समितिका अध्यक्षले पाउने इन्धन सुबिधामा प्रति महिना दुई सय लिटरबाट कटौती गरी १ सय ७५ लिटर कायम गरेको छ । साथै कोषले क्रमशः खर्चमा मितव्ययीता कायम गर्दै सुरक्षित, मुनाफामुखी तथा दीगो लगानीको व्यवस्थापन गरी सेवाग्राहीलाई थप प्रतिफल प्रदान गर्ने पहल समेत गरेको पाइएको छ ।

कोषको कार्यलाई चुस्त र प्रभावकारी बनाउनको लागि कोषले सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने नीति लिएको कोषको सूचना अधिकारी उद्धव सिलवालले बताए ।

सेवाग्राहीको समस्या समाधानको लागि हेल्प डेस्क, सोधपुछ कक्ष, सूचना कक्ष तथा सुझाव पेटिकाको व्यवस्था गरी प्राप्त गुनासो, सुझाव तथा जानकारीहरुलाई तत्काल समाधान गर्ने पहल शुरु गरेको छ । आगामी दिनमा ग्राहकमैत्री सेवालाई अझ प्रभावकारी बनाउने नीति समेत कोषले लिएको छ ।


क्लिकमान्डु