उद्योगी व्यापारीलाई अर्थमन्त्रीको सन्देश, ब्याजदर आफै घटाउनुहोस् नभए सरकारले हस्तक्षेप गर्छ



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बढी ब्याजदर लिएको विषय निकै चर्चामा छ । सडकदेखि सदनसम्म र सिंहदरवारसम्म यही विषयमा चर्चामा छ ।

उद्योग वाणिज्य महसंघका जिल्ला तथा नगर संघले बढी ब्याजदर लिएको भन्दै आन्दोलन गरिराखेका छन् । यसलाई महासंघ लगायत निजी क्षेत्रका अन्य संस्थाले नैतिक समर्थन समेत दिएका छन् ।

बुधवार राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीसँग बिराटनगरमा उद्योगी र व्यवसायीले वार्ता गरेका थिए । जसमा महासंघ अध्यक्ष भवानी राणाले १५ दिनभित्रमा ब्याजदर नघटेमा आन्दोलन गर्ने चेतावनी दिएक थिइन् ।

अर्थमन्त्रालय र राष्ट्र बैंकको पहलमा बैंकहरुले निक्षेपमा भद्र सहमति गरेपनि सो अनुसारको कर्जा ब्याजदर घटेको छैन । अर्थमन्त्री डा खतिवडाले गतसाता उच्च स्तरिय वित्तीय कार्यदलको बैठकमा राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल,डेपुटी गभर्नरद्य चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ तथा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सहित उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा,जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान सहित उपस्थित व्यवसायीसँग छलफल गरेका थिए ।

अर्थमन्त्री खतिवडाले गभर्नर हुँदा उद्योगी र बैंकरलाई छुटउनुपर्ने बताउदै आएका थिए । सो अनुसारको नीति ल्याउने तयारी भएपनि त्यसमा भने अर्थमन्त्री खतिवडा सफल भएनन् ।

अहिले फेरी ब्याजदरको विषयले उद्योगी व्यवसायी र बैंकरबीचको विवाद बढेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार काभ्रेमा हेस्टर बायोसाइसेन्स नेपाल प्रालिको उद्घाटन कार्यक्रममा उद्योगी र व्यापारी आफैले बैंकको ब्याजदर घटाउनुपर्ने बताए ।

कार्यक्रममा महासंघ अध्यक्ष राणा र उद्योगी लगानीकर्ता समेत रहेका महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा उपस्थित थिए ।

‘बैंक र उद्योगीको ब्याजदर समस्या समाधान सरकारले हस्तक्षेप गर्न नपरोस, आवश्यक परेमा हस्तक्षेप सरकारले हस्तक्षेप गर्छ,’ अर्थमन्त्री खतिवडाले भने । उनले बैंकमा लगानी गर्ने नै उद्योगी व्यापारी भएको भन्दै यो समस्या आफै मिलेर समाधान गर्न आग्रह गरे ।

‘तपाईहरुको लगानी भएको बैंक हो,संचालकमा उद्योगी व्यवसायी हुनुहुन्छ, कति नाफा लिने तपाईहरुले निर्धारण गर्ने कुरा हो, यसमा हामीले हस्तक्षेप गर्न नपरोस,’खतिवडाले थपे ।


क्लिकमान्डु